हेटौँडाः बागमती प्रदेशको चार जिल्लामा विभिन्न घटनामा परी चार जनाको मृत्यु भएको छ । बिहिबार चितवन, सिन्धुली, धादिङ र काभ्रेमा एक–एक गरी चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
बिहिबार चितवनको कालिका नगरपालिका–१० स्थित पाईमराङमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय दिल बहादुर प्रजा रहेका छन् । बिहिबार दिउँसो ३ बजे चट्याङ लागेर प्रजाको घरमै मृत्यु भएको हो ।
यस्तै बिहिबार सिन्धुलीको कमलामाई नगरपालिका–६ मा एक महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–३ स्थित झुंगा घर भई हाल कमलामाईमा डेरामा बस्दै आएकी ३५ वर्षीया जानुका माझी सुतेको अवस्थामा मृत भेटिएको हो । माझीलाई अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै धादिङको नेत्रावति डबजोङ गाउँपालिका–१ मा एक पुरुष मृत फेला परेका छन् । ५१ वर्षीय हरी बहादुर अधिकारी आफ्नै घर नजिकैको सडकमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक अधिकारी १ महिनादेखि एक्लै घरमा बस्दै आएको बताइएको छ ।
यस्तै काभे्रको नमोबुद्ध नगरपालिका–६ मा एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । १३ वर्षीया खुसी न्यौपाने मृत अवस्था भेटिएकी हुन् । न्यौपाने हराएको भन्ने खबर साँझ ५ बजे प्रहरी चौकी कटुन्जेवेशीमा प्राप्त हुनासाथ प्रहरी टोली र आफन्तहरुले खोजतलास गर्दै जाँदा डेढ घण्टापछि दाप्चा खोलाको दहमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।