गुगल तस्विर

हेटौंडाः मकवानपुर जिल्लामा डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म एक सय ५४ जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लामा ७१ जना पुरुष र ८३ जना महिलामा डेंगु पुष्टि भएको हो ।

बुधबारमात्र जिल्लाका ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार डेंगु पुष्टि हुनेमा ६ जना हेटौंडा उपमहानगरपालिका र एक जना कैलाश गाउँपालिकाका बासिन्दा रहेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढि डेंगु संक्रमण पुष्टि भएको छ । हेटौंडामा मात्र एक सय १४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यस्तै, मनहरी गाउँपालिकाका १६ जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना, बकैया गाउँपालिकाका ६ जना र भीमफेदी गाउँपालिकाका ३ जनामा डेंगु पुष्टि भइसकेको छ । कैलाश गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका एक जनामा डेंगु संक्रमण पुष्टि भइसकेको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाका बासिन्दामा डेंगु देखिएको छैन । ठेगाना नखुलेको एक जना र अन्य जिल्लाबाट ३ जनामा डेंगु पुष्टि भएको छ । जिल्लामा डेंगुसँगै स्क्रब टाइफस पनि तीव्र गतिमा बढिरहेको छ । बुधबार जिल्लाका ५ जनामा टाइफस पुष्टि भएको हो । टाइफस पुष्टि हुनेमा २ जना हेटौंडा, २ जना मनहरी र एक जना बकैया गाउँपालिकाका रहेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार साउन महिनादेखि हालसम्म ८१ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । जिल्लामा २६ जना पुरुष र ५५ जना महिलामा स्क्रब टाइफस पुष्टि भएको हो ।

डेंगुजस्तै स्क्रब टाइफस पनि हेटौंडामै बढि पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका ४३ जना, मनहरी गाउँपालिकाका १० जना, मकवानपुरगढी र बकैया गाउँपालिकका ९–९ जना, भीमफेदी गाउँपालिकाका ५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । बागमती गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकाका एक–एक जनामा स्क्रब टाइसफल संक्रमण पुष्टि भइसकेको छ । जिल्लाको थाहा नगरपालिकामा भने स्क्रब टाइफस संक्रमण देखिएको छैन ।

स्क्रब टाइफस माइस किराबाट लाग्ने रोग हो । माइस किराले मानिसको छालामा दागहरुको एलर्जी गराउँछ । स्क्रब टाइफसको संक्रमण भएमा मानव शरीरको विभिन्न अंगमा बिबिरा देखिन्छ । टाइफसको संक्रमण भएमा निको हुन ४ हप्ता लाग्नसक्छ । टाइफस संक्रमण भएको अवस्थामा केहि शारीरिक जटिलता भएमा तुरुन्तै डाक्टरको सल्लाह लिन जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले अनुरोध गर्नुभएको छ । साउन महिनायता जिल्लामा स्क्रब टाइफस संक्रमण बढि देखिएको मिजारले बताउनुभयो ।

माइस किरा झाडीमा पाइने गर्दछ । घर वरिपरिको झाडी सफा गर्न मिजारले आग्रह गर्नुभएको छ । स्क्रम टाइफस रोगले मिर्गौला र कलेजोलाई क्षति गर्न सक्दछ । संक्रमित व्यक्तिको सहि अवस्थामा उपचार नभएमा मृत्युसमेत हुनसक्ने मिजारले बताउनुभयो ।