कार्यक्रममा बोल्नुहुँदै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट ।

हेटौँडाः हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार बिहान हेटौँडा–२ स्थित कार्यालय परिसरमै बोर्डको वार्षिक प्रगति विवरण सहित चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सार्वजनिक गरेको हो ।

बोर्डले अहिले हेटौंडा उपमहानगरपालिकाका २७ हजार सात सय २१ वटा धारामा पानी वितरण गरिरहेको छ । दैनिक तीन करोड ५७ लाख लिटर पानी उत्पादन गरेर उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ । प्रगति विवरण प्रस्तुत गर्नुहुँदै बोर्डका निमित्त प्रमुख विष्णुप्रसाद सापकोटाले मासिक सरदर एक करोड १३ लाख रुपैयाँ मासिक महसुल संकलन हुने गरेको जानकारी दिनुभयो ।
बोर्डले ३३ वटा डीप ट्युब वेल र १६ वटा समवेलबाट पानी संकलन गरेर उपभोक्तालाई वितरण गर्दै आएको छ । पानी वितरण पर्याप्त रहेको उल्लेख गर्नुहुँदै निमित्त प्रमुख सापकोटाले यसलाई निरन्तर कायम राख्नु चुनौतिको विषय भएको उल्लेख गर्नुभएको छ । बोर्डले चालु आर्थिक वर्षका लागि २० करोड ९५ लाख रुपैयाँ अनुमानित आयको विवरण प्रस्तुत गरेको छ ।

उहाँका अनुसार, गत आर्थिक वर्षमा पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत (१५ करोड ४ लाख ३६ हजार रुपैयाँ) संकलन गरेको छ । बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । बोर्डले पानी महसुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निवेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत (१५ करोड ४ लाख ३६ हजार रुपैयाँ) संकलन गरेको हो ।

बोर्डले बाह्य आम्दानीतर्फ हेटौँडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँगको सहकार्यअन्तर्गत १ करोड ७९ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको छ । बोर्डले गत आर्थिक वर्षमा कार्यालय संचालनतर्फ ५ करोड ७६ लाख ३६ हजार रुपैयाँ र सेवा संचालनतर्फ ३ करोड ८७ लाख १ रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा हेटौँडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउण्डभित्र समवेल, मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समवेल निर्माण, हेटौँडा–१६ हटियामा शक्तिखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण टंकीसहित ५५७ वटा धारा बोर्डमा हस्तान्तरण गरिएको छ ।

नगरक्षेत्रभित्र बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको अध्यक्ष प्रताप विष्टले बताउनु भयो । बोर्ड सञ्चालनमा आएदेखि हालसम्म बोर्डमा १६ वटा उपभोक्ता समिति हस्तान्तरण तथा सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा वृद्धि भएको उहाँको भनाई छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै नयाँ क्षेत्रमा नयाँ आयोजनाको थालनी गरिरहेको उहाँले बताउनुभयो ।
पानी परीक्षण प्रयोगशालाको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, बोर्ड अन्तर्गत रहेका खानेपानीका पूर्वाधारको सुधार र विस्तारको कार्य, खानेपानीका स्रोतको सुरक्षा एवम् संरक्षण कार्य, बोर्डको सेवाक्षेत्रभित्र २ स्थानमा डिप ट्यूबवेल निर्माण, पानी पुनर्भरण (रिचार्ज) पोखरी स्थानीय तह र सामुदायिक वनसँगको सहकार्यमा निर्माण कार्य गर्ने चालु आर्थिक वर्षको योजना रहेको अध्यक्ष विष्टले बताउनुभयो ।