हेटौंडाः सयपत्री युवा क्लबको आयोजनामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ । मंगलबारको पहिलो खेलमा चितवन जिल्लाको भण्डारास्थित लालीगुराँस क्लब र दोस्रो खेलमा नयाँबस्ती क्लब विजयी भएका छन् । गाउँपालिका वडा नम्बर–६ स्थित जोगीताल मैदानमा भएको मंगलबारको पहिलो खेलमा मनहरीले, पिप्लेको जयमनकामना क्लबलाई १–० गोलले हराउँदै लालीगुराँस विजयी भएको हो । लालीगुराँसको जीतमा अमित मगरले निर्णायक गोल गरेका हुन् ।

यस्तै, मंलबार भएको दोस्रो खेलमा नयाँबस्ती विजयी भएको छ । मिसन–८४ लाई २–० गोलले हराउँदै नयाँबस्ती विजयी भएको हो । नयाँबस्तीको जीतमा सन्देश श्रेष्ठले २ गोल गरेका हुन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल भदौ १७ गते हुनेछ । २१ टिमको सहभागिता रहेको प्रतियोगितामा १३ टिम बाहिरिइसकेको छ ।