कमल नेपाल

हामी यस्तो देशमा छौं; जहाँ विद्यार्थीहरू विद्यालय हाताभित्र नेपाली भाषा बोलेकै कारण दण्डित हुन्छन् । यस प्रकारका दण्ड शारीरिक, मानसिक तथा कतिपय स्थानमा आर्थिक समेत् हुने गरेको छ । यसको मुख्य कारण हो, अङ्ग्रेजी भाषामा दक्ष बनाउने नाममा नेपाली भाषामाथि गरिने सौतेनी व्यवहार । कतिपय निजी विद्यालय हातामा प्रवेश गर्ने बित्तिकै ‘अङ्ग्रेजी बोलिने क्षेत्र’ वा ‘नेपाली निषेधित क्षेत्र’ भनेर सबैले देखिने गरी प्रष्ट रुपमा कुनै साङ्केतिक चिन्ह राखिएको पाइन्छ । अभिभावकका नजरमा तथा समाजमा आफ्नो संस्था अरुभन्दा फरक छ र अङ्ग्रेजी मात्र बोल्न लगाइँदो रहेछ भन्ने देखाउनु बाहेकको यसको कुनै प्रयोजन नै छैन । सामुदायिक विद्यालयमा केही वर्ष अगाडिसम्म यस्ता गतिविधि विरलै देखिने भएपनि आजकल सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजीको भुत चढ्दै गएको देख्न पाइन्छ ।

नेपाली माध्यममा पढ्ने विद्यार्थी कमजोर हुन्छन् र अङ्ग्रेजी माध्यममा पढ्ने चाहिँ जान्ने हुन्छन् भन्ने भ्रम समाजमा तीव्र रुपमा बढेको छ । देशमा चारैतिर अङ्ग्रेजीको माहौल बढेपछि नेपाली विषय स्वतः कमजोर हुने नै भयो । नेपालीमा विचार अभिव्यक्त गर्नुभन्दा अङ्ग्रेजीमा गर्न सक्नुपर्छ भन्ने गलत मानसिकता क्रमशः विद्यार्थीमा स्थापित गराइँदै छ । नेपाली विषय अधिकांश सामुदायिक तथा संस्थागत् विद्यालयको प्राथमिकतामा पर्दैन । नेपाली भाषालाई विषयको मान्यता नै नदिने सोच हाम्रो समाजमा बढ्दै गएको छ । यही सोचका कारण नेपाली भाषाले सम्माजनक स्थान पाउन सकेको छैन । रमाइलो कुरा त के भने घरमा नेपाली विषय पढ्न वा लेख्न लागेका आफ्ना सन्तानलाई अभिभावकले नै गाली गर्ने गरेर अन्य विषयलाई प्राथमिकता दिन दबाव दिने गरेको दुःखद् अनुभव कतिपय विद्यार्थीहरूको रहेको छ । नेपालीबाहेकका अरु विषयलाई प्राथमिकताका साथ पढ्नका लागि अभिभावकबाट नै दबाव आउँछ । यसरी अभिभावकबाटै नेपाली पढ्दा खप्की पाएपछि निर्दोष विद्यार्थीहरूले के गरून् ? नेपाली किताब थपक्क बन्द गरेर विज्ञान तथा गणितलगायतका अन्य विषय निकालेर पढ्न बाध्य हुन्छन् । विद्यार्थी पनि यस मामलामा केही हदसम्म दोषी देखिन्छन् । अन्य विषय शिक्षकले जति गृहकार्य दिँदा पनि चुप लागेर बस्ने विद्यार्थी नेपालीको गृहकार्य दुई पेजभन्दा माथि पुग्ने बित्तिकै धेरै भयो भन्दै कराउन थाल्छन् ।

विश्वव्यापी रुपमा नेपाली विद्यार्थीलाई पनि नयाँ प्रविधिले छोएको छ । प्रविधिको दुरुपयोग नयाँ पुस्ताले धेरथोर गरेकै छन् । नेपाली गीत सङ्गीत हेर्न र सुन्न रुचाउने जमात् घट्दै छ । नेपाली चलचित्र हेर्न त झनै रुचाउँदैनन् । टेलिभिजन तथा युट्युबमा नेपाली कार्यक्रम हेर्नु र सुन्नु उनीहरुको प्राथमिकतामा कहिल्यै पर्दैन । अनि शब्दभण्डारको ज्ञान कसरी हुन्छ ? आजकल मोबाइल गेमको लत डरलाग्दो ढङ्गले बढेको छ । गेमले बालबालिकालाई समाज तथा परिवारबाट टाढा बनाएको छ । पारिवारिक जमघटमा बस्नु अनि आफन्तसित विचार विनिमय गर्नु त एकादेशको कथा भएको छ । समाजसित घुलमिल हुनुको साटो एकान्तमा आफूलाई मोबाइलमा सक्रिय बनाउने गरेका छन् । यही कारण परिवार तथा समाजसँगको सिधा सम्पर्कबाट विद्यार्थीहरू निकै टाढा हुँदै छन् ।

कोचिङ तथा ट्युसन कक्षा भनेको कमजोर विद्यार्थीलाई क्रमशः बलियो बनाउँदै लैजाने प्रक्रिया हो । सबै विद्यार्थी सबै विषयमा अब्बल हुन्छन् भन्ने छैन । कतिपय विद्यार्थी नेपाली भाषामा पनि कमजोर हुने गरेका छन् । यी विद्यार्थीले नेपाली विषयको ट्युसन वा विशेष कक्षा लिनुपर्ने हुनसक्छ तर नेपाली विषय सजिलो हुने भएकाले विशेष कक्षाको आवश्यक्ता पर्दैन भन्ने धारणा अभिभावकमा पर्ने गरेको छ । फेरि नेपाली विषयमा कम अङ्क आएको छ भने यसको असर प्रत्यक्ष रुपमा शिक्षकमाथि नै पर्ने गरेको छ । अभिभावक तथा विद्यालय प्रशासनले सारा दोष विषय शिक्षकलाई लगाएर आफू भने पानीमाथिको ओभानो हुन खोज्छन् । एउटा विद्यार्थी कुनै पनि विषयमा दक्ष बन्नका लागि विषय शिक्षकमात्र जिम्मेवार कदापि हुँदैन । अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनको सामुहिक प्रयासले मात्र एउटा विद्यार्थी सफल हुन सक्छ ।

विद्यालय प्रशासन र अभिभावक त आआफ्नो ठाउँमा दोषी भैहाले । नेपाली विषय पढाउने शिक्षकका पनि देखिने सामान्य कमजोरी नभएको होइन । नेपाली विषय पढ्दा हुने फाइदा तथा नेपाली विषय पढेरै भविष्यमा गर्न सकिने कार्यहरूबारे प्रष्ट रुपमा उनीहरूलाई बुझाउन सकिएको छैन । परम्परागत् सिकाइलाई अङ्गीकार गरी नयाँपन दिन नसक्दा पनि विद्यार्थीहरूले नेपाली विषयमा भन्दा अन्य विषयमा आकर्षित् हुन पुगेका हुन् । विद्यार्थी, अभिभावक तथा सम्बन्धित् निकायलाई नेपाली भाषाको महत्व र गरिमाबारे नेपाली विषयका शिक्षकहरूले बुझाउनै पर्छ । नेपाली वर्णविन्यासका नियमलाई चट्ट पारी लयात्मक ढङ्गमा प्रस्तुत गरिएको एउटा गीत सामाजिक सञ्चालमा निकै भाइरल भएको थियो । ‘साधारण नियम यो सुरूको र बीचको ह्रस्व हुन्छ अन्तिमको दीर्घ बरी लै’ शीर्षकको यस गीतमा ह्रस्व दीर्घसम्बन्धी नियम तीजको भाकामा प्रस्तुत गरिएको छ । यस गीतको भिडियो युट्युबमा हेर्न सकिन्छ । राजधानीस्थित् एक निजी शैक्षिक संस्थाका नेपाली शिक्षक यस कार्यका लागि सम्मानका पात्र बनेका छन् । यस्तै प्रकारको नयाँ सोच तथा प्रविधिलाई क्रमशः आत्मसात गरी अगाडि बढ्न सकेमा केही हद्सम्म यो समस्या समाधान हुन सक्छ ।

अङ्ग्रेजी भाषाकै कारण देश विकसित हुने भएको भए मातृभाषालाई प्राथमिकता दिने चीन, जापान, रुस, दक्षिण कोरिया, जर्मनी तथा फ्रान्सलगायतका देश आज निकै पछाडि हुन्थे । जातीय, भाषिक र राजनैतिक पहिचानको कुरा तीव्र रुपमा उठेको वर्तमान समयमा आफ्नै भाषालाई कमजोर बनाएर हामी कस्तो पहिचान स्थापित गर्न खोज्दै छौं ? यस लेखको आशय अङ्ग्रेजी भाषालाई अस्वीकार गरेर अगाडि बढ्नुपर्छ भन्ने हुँदै होइन । विश्व बजारमा प्रतिस्पर्धाका लागि अङ्ग्रेजीको विकल्प नै छैन । नेपाली भाषाका तुलनामा अङ्ग्रेजी भाषामा पठनीय सामग्री पर्याप्त मात्रामा पाइन्छन् । आफूलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउँछु भन्ने र कुनै पनि विषय वा क्षेत्रमा पूर्ण दक्षता हासिल गर्नेका लागि अङ्ग्रेजी निर्विकल्प छ ।

अङ्ग्रेजी माध्यम नै विद्यार्थीका लागि सिकाइको सर्वोपरि विकल्प होइन । अङ्ग्रेजी माध्यममै शिक्षण सिकाइ अगाडि बढाउनुपर्ने बाध्यकारी नियम कतिपय ठाउँमा शिक्षक र विद्यार्थी दुबैका लागि ‘खाए खा, नखाए घिच्’ बन्न पुगेको छ । विद्यार्थीहरूले बुझ्न र शिक्षकहरूले बुझाउन जटिलताको सामना गर्नुपरेको छ । अङ्गे्रजी भाषाको प्रयोग गरी शिक्षकले शिक्षण सिकाइ अगाडि बढाउँदै गर्दा कतिपय शब्दका अर्थ विद्यार्थीले नेपालीमा चाहन्छन् । नेपालीमा शिक्षण सिकाइ अगाडि बढाउँदा कतिपय शब्दको ज्ञान नभएर विद्यार्थीहरू अङ्गे्रजीमा सुन्न खोज्छन् । अङ्गे्रजी माध्यममै पढाउनु पर्ने बाध्यकारी नियमका कारण कत्तिपय अवस्थामा विद्यार्थीहरू न त पूर्णरुपमा अङ्ग्रेजीमा दक्ष हुन सकेका छन्; न त नेपालीमा नै । के फरक पर्छ र विद्यार्थीलाई विज्ञानका कुरा नेपालीमा बुझाउँदा ? गणितका समस्या समाधान गर्ने बेलामा नेपालीमा अभिव्यक्त गर्दा के बिग्रन्छ ? लेखाका समस्यालाई नेपालीमा सम्झाउँदा अव्यवहारिक हुन्छ र ? स्वास्थ्य तथा वातावरणका कुरा नेपालीमा बुझाउँदा विद्यार्थीले कम बुझ्ने भन्ने हुन्छ र ? यी प्रश्नको चित्तबुझ्दो जवाफ हामी कसैसित पनि छैन ।

कुनै पनि कुरालाई बोलेर तथा लेखेर मात्र हैन इशारा गरेर तथा स्पर्श गरेर बुझाउन सकिन्छ । हामी विद्यार्थीलाई अङ्ग्रेजी माध्यम नै उत्तम विकल्प हो भन्दै नेपालीमा बोल्दा अपराध नै हुने जसरी के सिकाउन र के बुझाउन खोज्दै छौं ? यो सोचनीय छ । नेपाली नेपालको राष्ट्रिय भाषा तथा सवल सम्पर्क भाषा हो । सम्पूर्ण नेपालीहरूको पहिचानलाई नेपाली भाषाले स्थापित गरेको छ । नेपाली भाषाले भारत, भुटान तथा म्यान्मारमा औपाचारिक मान्यता पाएको छ । विश्वका विभिन्न देशमा नेपालीभाषीको बाक्लो उपस्थिति रहेको छ । ऐतिहासिक दृष्टिले विश्वका आधुनिक मानिएका भाषाभन्दा नेपाली भाषा जेठो छ । यसको संरक्षणका लागि सबै पक्षको समान सहभागिताको आवश्यक्ता छ । देशमा सङ्घ तथा प्रदेश तथा स्थानीय तहको आमालाई भन्दा सानीमालाई माया गर्ने प्रवृत्ति अर्थात् नेपाली भाषाभन्दा अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने प्रवृत्ति क्रमशः हटाउँदै जानुपर्छ । शैक्षिक संस्था, शिक्षक, विद्यार्थी संघ संघठन, अभिभावक तथा भाषाविद्हरूले अब यस विषयमा फरक ढङ्गले सोच्नैपर्ने बेला भएको छ । (लेखक हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माविका शिक्षक हुनुहुन्छ ।)