जनताका लागि जनताले जनतामाथि गरिने शासन हो प्रजातन्त्र । प्रजातान्त्रिक व्यवस्थामा दलहरुको उपस्थिति र भूमिका सर्वोपरि हुन्छ । प्रजातन्त्रमा जनताले स्वतन्त्रता वा राजनीतिक अधिकार त प्राप्त गर्छन् तर त्यो मात्र पर्याप्त हुँदैन । जनजीविकाको सुनिश्चतता, सामाजिक, साँस्कृतिक, आर्थिक समानता प्रजातन्त्रसँग जोडिएको अर्को महत्वपूर्ण विषय हो । प्रजातन्त्र भन्ने तर डेलिभरि दिन नसक्ने, सुशासनको सर्वथा अभाव रहने, भष्टाचारको चाङमाथि बसेर शासन गर्न थालियो भने त्यो जनताका लागि जनतामाथि जनताले गर्ने शासन हुँदैन । त्यस्तै हामीकहाँ प्रजातन्त्र/लोकतन्त्रले अबम्वलन गरेको बेथिति, विकृति, दूराचार अनुत्तरदायी कार्यले प्रजातन्त्रको मूल्य र मान्यतालाई धज्जी उडाउने काम गरेको छ ।

लामो समयदेखि हाम्रो व्यवस्थामा पुरानो पुस्ताको पकड छ । यि नयाँ पुस्तालाई हत्पती स्पेस दिन चाहँदैन । युवालाई प्रतिस्पर्धामा आउनै नदिनु, युवा पुस्तालाई नेतृत्वबाट अझ, राजनीतिबाट अलग राख्न खोज्ने प्रवृत्ति सर्वथा अनुचित छ । पञ्चायतमा पनि मौलिक प्रजातन्त्र छ भन्नेहरु थिए । तर संविधानतः दलहरु प्रतिबन्धित थिए । पञ्चायत ढल्यो, दलहरू फुकुवा भए तर दलीय निरंकुशता कायम रह्यो । अहिले नयाँ विचार र नयाँ पुस्तालाई दलकै मठाधीशहरुले राजनीतिको मूल प्रवाहमा समाहित गर्न निषेध गरेका छन् । आफ्नो अकर्मण्यता र असक्षमता छोप्न नेतृत्वमा रहने शिर्ष नेताहरुले अपवित्र ढंगको घेराबन्दी र सिन्डिकेट चलाइरहेका छन् । गगन थापा भन्दै थिए देशलाई शेरबहादुर, केपी, प्रचण्डहरुले क्लब बनाए । दुई दशक भन्दा बढि यिनकै पेरिफेरीमा देश बन्धक छ । यि त्रय नेताको स्वेच्छाचारिताले पराकाष्ठा नाघिसक्यो । यि त्रयनेताको निंरकूशता जसलाई तोड्न प्रजातन्त्ररुपी हतियार पनि भुत्ते सावित हुँदैछ । प्रजातन्त्रको विकल्प नेतातन्त्र वा दलीय निंरकुशता किमार्थ होईन न त कुनै सिन्डिकेट वा निषेधको राजनीति हो ।

खुल्ला समाजमा क्षमता र योग्यता भएकाहरुलाई लामो समय निषेध वा भूमिकाबिहिन बनाएर राख्न सकिँदैन । समय र जनताको चेतनाले क्रमशः ति न्याय सत्यलाई पछ्याउँछ नै । मलेसिया बनाउने महाथिर बिन महोमद जसलाई आधुनिक मलेसियाको पिता मानिन्थ्यो । उहाँ मृत्यु नआएसम्मको सक्रियताको कुरा गर्नुहुन्थ्यो । तर उहाँको ५३ वर्षको शासन भर्खरै सम्पन्न निर्वाचनमा जमानत जफत हुँदै समाप्त भयो । कुनै समय विंस्टन चर्चिल ८० वर्षको हुँदा आफुमा अझै काम गर्न सक्ने क्षमता र फूर्ति भएको दाबी गर्नुहुन्थ्यो तर जब उहाँलाई आफ्नै तस्बीर उपहार दिइयो तब उहाँले आफुलाई त्यो तस्बीरमा हेर्दा आफु बुढा, कमजोर र वृद्ध भएको महसुस गर्नुभयो । अब उमेरले पनि नेटो काटेछ भन्ने आत्मबोध भएर राजनीतिबाट सन्यास लिनुभयो र प्रधानमन्त्री पद छाड्नुभयो । अमेरिकी नेतृ तथा पूर्व सभामुख नैन्सी पेलोसीले अब नयाँ पुस्तालाई मौका दिनुपर्ने समय आएकोले आफ्नो ३५ वर्षको राजनीतिक जीवनको यात्राको अन्त्यको घोषणा गर्नुहुँदै आफु अब आउने चुनाव नलड्ने घोषणा गर्नुभयो । हामीकहाँ राजनीतिमा ग्रेसफुल एक्जिट गर्ने कल्चर छैन । त्यसैले अब चर्चिल र महाथिरलाई हटाए जसरी जनताले नै अहिले देखिएको नेतृत्वलाई हटाउनु पर्ने जरुरी देखिन्छ ।

हामीले के कुरा कहिल्यै नबिर्सियौं कि हिटलरले जर्मनीमा गरेका सबै कुरा पनि कानूनी थियो । राणाकालीन समयमा दरबारको पटाङ्गिनी बसेर जे लेखिन्थ्यो त्यही कानुन हुन्थ्यो । वर्णवादी व्यवस्था हुँदा दलितहरुलाई मन्दिर भित्र प्रवेश निषेध थियो त्यो बेला त्यही कानुनसम्मत थियो । तर हिंसा भनेको बन्दुक उठाएर कसैलाई मार्नु मात्र होईन ईतिहास र वर्तमानमा भएको निषेध पनि हिंसा हो । हिजो ती कुराहरु विभेदकारी थिए भन्ने अहिले प्रजातन्त्रको नाममा गरिएको निषेध विभेदकारी छ ।

अब्राहम लिंकन अमेरिकी गोराहरुको दासत्वबाट अश्वेत दासलाई मुक्ति दिन चाहनुहुन्थ्यो । उहाँको घोषणापत्र तयार थियो, तर उहाँका नातेदारले विरोध गरे दासप्रथा उन्मुलनको । उहाँले भन्नुभयो, “मेरो ज्यान जान्छ भने जावस तर म अमानवीय प्रथा मान्न सक्तिन ।” नेतामा विवेक हुन्छ । जब मानिस बुद्धि भन्दा पर गएर विचार गर्छ, उसले विवेक बोकेको हुन्छ । नेल्सन मण्डेलालाई मार्ने प्रयास भइरह्यो । उहाँले भन्नुभयो, “मलाई पनि क्रिस हानीलाई मारेजस्तै मार्छन्, तर पनि म नस्लवादका विरुद्ध लड्छु र दक्षिण अफ्रीकालाई मुक्त गर्छु ।” कलकत्तामा हिन्दु र मुसलमानका बीचमा दंगा भयो । महात्मा गान्धी लठ्ठी टेकेर कलकत्ताका सडकमा रहनुभयो । नेपालको स्वाधीनता खतरामा थियो, बिपि कोइराला नेपाल आएर पक्राउ पर्नुभयो । देशभक्ति निरंकुश दमनबाट डराएनन् । मनमोहन घाइते हुनुभयो । तर पनि संसदलाई आफ्नो जवाफ दिएरै पद छाड्नुभयो ।

विभिन्न देशमा राष्ट्र निर्माताका रुपमा फ्रान्सका नेपोलियन बोनापार्ट, इटालीका जुसेप गरिबाल्डी, अमेरिकाका जर्ज वासिङ्टन, जर्मनीका विस्मार्क जस्तै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको अतूलनीय योगदान रहेको छ । उहाँले राष्ट्रको निर्माणमात्रै गर्नुभएन साम्राज्यवादका विरुद्ध लड्न सक्ने तागत नेपालसँग पनि छ भन्ने सन्देश त्यो बेलामा ब्रिटिसहरुलाई दिनुभयो । उहाँ आफैंले पनि, पहिले सदियौंदेखि रहेका काठमाडौंका संस्कृति, शिक्षा, देवस्थल, मठमन्दिर, कलाकौशल, पाटीपौवा आदिलाई पृथ्बीनारायण शाहले कहिल्यै भत्काउन दिनुभएन । दमन वा संहार गर्नुभएन । बरु संरक्षणमा पूरापूर ध्यान दिनुभएको पाइन्छ । अफगानिस्तानमा तालिवानीहरुले विश्वकै पुरातात्विक महत्वका बुद्ध मूर्तिहरुलाई बमले उडाइदिएका थिए । जुन व्यक्ति आफैले कहिले पनि कसैको कला, संस्कृति वा मूर्तिमाथि आक्रमण गरेनन् आज त्यस्तो महान व्यक्तिको सालिक भत्काउनु लज्जाजनक बिषय हो ।

राजनीतिक रुपमा राजाको शासनको विषयमा विमति हुन सक्छ तर राष्ट्रनिर्माताको विषयमा कसरी बिमति हुनसक्छ ? के त्यो बेला नेपालमा मात्र काटमार भएको हो ? इतिहासको विश्लेषण समय, भुगोल, देश, काल र परिस्थिति अनुसार गर्नुपर्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको थालनी गर्नुहुँदा माक्र्सवादको त कुरै छोडिदिउँ युरोपमा भर्खरै पुँजिवादी विचार मौलाउन थालेको थियो । फ्रान्समा लुईहरू सम्राटका रूपमा थिए, शक्तिशाली अमेरिका इङ्गल्याण्ड सम्राटको उपनिवेश थियो । एसिया, अफ्रिका, अमेरिका महाद्विपमा युरोपका शक्तिशाली देशहरु साम्राज्यको विस्तार गर्दै लडाइँबाट जनतामा काटमार मचाएर आफु अधिनस्थ बनाइरहेको परिस्थितिमा के पृथ्वीनारायण शाहको एकीकरण बिना बलको प्रयोग सम्भव थियो ? संसारका देशहरुको निर्माण अघिकांशरुपमा लडाइँहरुकै माध्यमबाट भएको छ ।

द्वन्द्व नभएको ठाउँ र युद्ध नलडेको देश कहाँ छ ? चीन, भारत, रुस र अमेरिका मात्र होइन जर्मनी, ईटली, स्पेन र इंग्ल्याण्ड युद्धकै क्रममा एकीकृत राष्ट्र भएका थिए । अनि यो काटमार, हत्या र हिंसाबाट राज्य बिस्तार भएको अवस्थामा नेपाल मात्रै कसरी अपवाद बन्न सक्छ ? त्यसैले ईतिहासको समीक्षा गर्दा तत्कालिन परिस्थिति अनुरुप गर्दा उचित हुन्छ । पृथ्वीनारायण माथि आरोप लगाउनेहरूले ईतिहासको परिवेश बुझ्न जरुरी छ । किन कि आम्बेडकरले भनेका छन् ईतिहास बिर्सनेले कहिले ईतिहास रच्दैन । त्यसैले राष्ट्र निर्माताप्रति समान गरौं । किन कि जब नेपाल भन्ने सार्वभौम, स्वतन्त्र, अखण्ड देशको कुरा आउँछ, देशको स्वाभिमान र पहिचानको कुरा आउँछ । त्यो बेलामा बडा महाराजाधिराज पृथ्वीनारायण शाहकै नाम अग्रपङ्क्तिमा आउँछ । सिङ्गो नेपालको एकीकरण, राष्ट्रिय एकता र आज हामी नेपाली हुनुको गौरवमा उहाँको योगदान अतुलनीय छ ।

वास्तवमा परिवर्तन ल्याउन ठुला–ठुला घटना वा आधारस्तम्भ चाहिँदैन । संसारका उदाहरणहरूले भन्छन् चिनिया जनक्रान्ति एउटा तरकारी किन्नेले तरकारी बेच्नेलाई गरेको अपमानबाट प्रारम्भ भयो, बोल्सेभिक क्रान्ति अहिले नेपालमा भएको जस्तै लुट, भ्रष्टाचार र तत्कालीन सरकारको असक्षमताले सुरुवात भयो भन्ने फ्रान्समा सीमित व्यक्तिहरूले शक्ति आफ्नो हितमा मात्र प्रयोग गरेपछि भयो । नेपालमा बिद्रोहका लागि ठुलो आधार चाहिँदैन ।

माओवादी बिद्रोह संसदीय व्यवस्था बेठिक भनेर गरिएको थियो । गणतन्त्रले डेलिभरि दिन नसक्दा यो व्यवस्थाप्रति जनतामा चरम जनआक्रोश छ । जननिराशा भुसको आगो जस्तो सल्कँदैछ । तसर्थ यो निराशालाई चिर्दै सम्भावित बिद्रोहलाई सामना गर्ने हो भने शासकहरुले मुलुकबासीलाई वास्तविकतामै विकास सम्भव छ, विदेशीको चलखेल र हस्तक्षेप बिना पनि हामी चल्न सक्छौं । स्वाधिन राष्ट्र बनाउन सक्छौं भन्ने वातावरण निर्माण गर्नु पर्छ । अन्यथा बिद्रोह जनताको अधिकार हो । अस्तू ।