हेटौंडाः सिमातमाई डाँफे युवा क्लबको आयोजनामा बकैया गाउँपालिकामा भएको ९ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात्तीसुँडे ए ले जितेको छ । शनिबार वडा नम्बर ५ स्थित भडौरामा भएको फाइनल खेलमा हात्तीसुँडे बी टिमलाई ४–२ गोलले हराउँदै ए टिमले उपाधि जितेको हो ।
हात्तीसुँडे ए टिमलाई जित दिलाउन सुजन गुरुङ, अभिषेक भोलन, विजय दोङ र किरण छुमीले एक–एक गोल गरे । बी टिमका लागि ओम धामीले दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् ।
जितसँगै हात्तीसुँडे ए ले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बी टिमले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । विजेता र उपविजेता टिमलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गर्नुभयो ।
क्लबका अध्यक्ष अर्जुन खड्काको सभाध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बकैया–५ की वडाध्यक्ष लक्ष्मी जिम्बा र पालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङको उपस्थिति रहेको थियो ।