हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा आयोजक सयपत्री युवा क्लब बी र जय मनकामना क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार गाउँपालिका वडा–६ स्थित जोगीताल मैदानमा भएको खेलमा सयपत्री बी ले सुनादेवी एफसीलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने मनकामना स्वतः विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

आयोजकको तर्फबाट सन्तोष थिङले पहिलो हाफमा दुर्ई र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरेका छन् । यस्तै राम रुम्बा र विरोज बलले समान दुई–दुई गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । ७–० को स्थितिले पछि परेर कमजोर अवस्थामा देखिएको सुनादेवी क्लबविरुद्ध एरोन श्रेष्ठले एक गोल प्रहार गर्दै ८–० को फराकिलो अन्तरमा पु¥याएका थिए । खेलको म्यान अफ द म्याच ३ गोलकर्ता श्रेष्ठ घोषित भएका छन् । उनले नगद पुरस्कार प्राप्त गरे । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जय मनकामना क्लबबीच हुने भनिएको खेलमा एपीएफको उपस्थिति नभएका कारण मनकामना स्वत क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोखरामा सवारी दुर्घटना भएका कारण एपीएफका खेलाडी प्रतियोगितामा उपस्थित हुन नसकेको बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल भदौ १७ गते हुनेछ । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ।