हटिया एकेडेमीका अध्यक्ष छवी सुवेदी (दायाँ) र एम्बिसन गुरुका सचिव होम नेपाली (बायाँ) जर्सी प्रदर्शन गर्नुहुँदै ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित हटिया स्पोर्टस् एकेडेमीलाई नगद र खेल सामग्री प्राप्त भएको छ । जिल्ला लिग फुटबलको तयारीमा रहेको एकेडेमीका अध्यक्ष छवि सुवेदीले शनिबार एकेडेमीलाई आवश्यक पर्ने खेल सामग्री र केही नगद प्राप्त भएको जानकारी दिनुभएको छ ।

एकेडेमीलाई शनिबार शिवम् सिमेन्ट प्रालिले ५० हजार रुपैयाँको २५ सेट बुट प्रदान गरेको छ । एक सेट बुटको दुई हजार मूल्य पर्ने २५ सेट बुट प्राप्त भएको अध्यक्ष सुवेदीले बताउनुभयो । यस्तै शनिबार काठमाडौंस्थित लोकसेवा तयारी कक्षा टिम एम्बिसन गुरु संस्थाले एकेडेमीलाई प्रिन्टसहितको २५ हजार रुपैयाँ बराबरको २५ सेट जर्सी सहयोग गरेको छ । टिमका सदस्य एवम् एकेडेमीका सचिवसमेत रहनुभएका होम नेपालीले एकेडेमीका अध्यक्ष सुवेदीलाई जर्सी हस्तान्तरण गर्नुभएको छ ।

यस्तै वडा निवासी प्रदीप अर्यालले एकेडेमीलाई ३ वर्षका लागि अडिट खर्च वापत २५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । हाल कतारमा रहनुभएका वडा निवासी दीपक श्रेष्ठले ११ हजार एक सय ११ रुपैयाँ, व्यवसायी राजकुमार गोलेले पाँच हजार रुपैयाँ, शंकर राउतले पाँच हजार पाँच सय ५५ रुपैयाँ र सुशान्त श्रेष्ठले जुराफ खरिदका लागि छ हजार रुपैयाँ प्रदान गर्नुभएको अध्यक्ष सुवेदीले बताउनुभयो । यस्तै हाल बेलायत बस्ने हेटौँडा–१७ का विकास रुपाखेतिले पाँच हजार रुपैयाँ तथा हाल युएईमा बस्ने हेटौंडा १७ का अशोक गौतमले छ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

एकेडेमीलाई लिग खेल्नका लागि करिब ३ लाख रुपैयाँ खर्च लाग्न सक्ने अध्यक्ष सुवेदीको अनुमान छ । अहिले सबै खेलप्रेमीले एकेडेमीलाई सहयोग गरिरहेको बताउनुहुँदै उहाँले आवश्यकताभन्दा बढी भने रकम नउठाउने बताउनुभयो । खर्चलाई सामाजिक सञ्जालमार्फत पारदर्शितापूर्वक सार्वजनिक गरिरहेको उहाँले बताउनुभयो । एकेडेमीले आगामी भदौ १४ गतेबाट सुरु हुने मकवानपुर जिल्ला फुटबल लिग प्रतियोगिताको तीव्र तयारी गरिरहेको अध्यक्ष सुवेदीको भनाई छ । एकेडेमीका सदस्य एवम् डी ग्रेड लाइसेन्स प्राप्त महेश गोङ्बाले प्रशिक्षकको भूमिका निर्वाह गरिरहनुभएको छ ।