बालमैत्री वडा घोषणा कार्यक्रममा प्रतिवद्धतास्वरुप हस्ताक्षर गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार बालमैत्री स्थानीय शासन वडा समितिको सहकार्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले घोषणापत्रमा हस्ताक्षर गर्नुहुँदै वडालाई निकृष्ट बालश्रममुक्त र बालविवाहमुक्त बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।

नेपाल सरकारको मापदण्डअनुसार बालमैत्री घोषणा गर्नका लागि आवश्यक ५१ वटा सूचकहरुमध्ये वडाले ४८ वटा सूचकहरु शतप्रतिशत पूरा गरेको बताइएको छ । बाँकी ३ वटा सूचकहरु क्रमशः ९८ प्रतिशत, ८१ प्रतिशत र ८० प्रतिशत पूरा भएको घोषणा कार्यक्रममा जानकारी दिइएको छ । वडाभित्र १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १ सय १० रहेकोमा वडालाई निकृष्ट बालश्रममुक्त र बालविवाहमुक्त गराउन सफल भएको बताइएको छ ।

यसअघि हेटौंडा–७ चौथो बालमैत्री वडा घोषणा भइसकेकोमा वडा नम्बर १७ पाँचौं वडाको रुपमा बालमैत्री घोषणा भएको हो । आज शनिबार हेटौंडा–१० छैठौं वडाको रुपमा बालमैत्री वडा घोषणा हुनेछ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।