प्रहरीले नियन्त्रणमा लिएको ट्रक ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले करिब डेढ करोड रुपैयाँको अवैध सामानसहित ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गाडीहरुलाई रोकी सुरक्षाजाँच गर्दा स्रोत नखुलेको सामानहरु पाइएपछि सामानसहित ट्रकहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले तीन वटा ट्रकबाट १ करोड २९ लाख रुपैयाँको सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति ९ बजेर ४५ मिनेटको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–७ मा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ८८७५ नम्बरको ट्रकबाट ३३ लाख ३२ हजार २ सय २६ रुपैयाँ बराबरको नरिवल, हार्डवेयरलगायतका सामग्री नियन्त्रणमा लिएको छ ।

सोही स्थानबाट राति ११ बजेर ३० मिनेटको समयमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ५९२६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर २८ लाख ९५ हजार ७ सय १३ रुपैयाँ बराबरको महिला सुटलगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, बुधबार राति ११ बजेर ५० मिनेटको समयमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ७३४२ नम्बरको ट्रकबाट ६६ लाख ९० हजार १ सय ३० रुपैयाँ बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पूजा सामग्री तथा अन्य खुद्रा सामान बरामद गरेको छ । उक्त तीन वटा ट्रक र सामानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।