हेटौंडाः कृष्ण जन्माष्टमीको अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ‘मुलमिलावा धाम’ हेटौंडा उपमहानगरपालिका–६, गौरीटारले विविध कार्यक्रमको आयोजना गर्दै सप्ताहव्यापीरुपमा कृष्ण प्राकट्य उत्सव २०८१ मनाइरहेको हो ।
परिषद्ले भदौ ४ गते मंगलबारदेखि १० गते सोमबारसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको परिषद्का अध्यक्ष प्रदीप बास्तोलाले जानकारी दिनुभयो । परिषद्ले गत मंगलबार हेटौंडा–१५, रातोमाटेस्थित दिव्य निकेतन सेवा आश्रममा विभिन्न खाद्यान्न सामग्री वितरण गरेको थियो । बुधबार परिषद्ले विभिन्न ब्यानर टाँसेर मुलमिलावा धामको प्रचार गरेको थियो । बिहीबार परिषद्ले हेटौंडा–६, गौरीटारस्थित प्रणामी चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
यस्तै, आज शुक्रबार मुलमिलावा धाममा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रममा ११ वटा विद्यालयका २२ जना विद्यार्थी सहभागी हुने अध्यक्ष बास्तोलाले बताउनुभयो । परिषद्ले शनिबार गौरीटार मुलमिलावा धाममा स्वास्थ्य शिविर र स्लो बाइक रेसको आयोजना गरेको छ ।आइतबार मन्दिर सरसफाई कार्यक्रमको आयोजना गरेको छ भने अन्तिम दिन सोमबार जन्माष्टमी भव्यरुपले मनाउने भएको छ । बास्तोलाका अनुसार परिषद्ले सप्ताहव्यापी कार्यक्रमका लागि २ लाख रुपैयाँको हारहारीमा बजेट विनियोजन गरेको छ ।