थर्ड आईका सञ्चालक बेलप्रसाद खतिवडा र क्लब अध्यक्ष सुविन घिमिरे क्लबको जर्सी सार्वजनिक गर्नुहुँदै ।

हेटौँडाः आसन्न जिल्लास्तरीय लिग फुटबलमा सहभागी हुने पिप्ले युवा क्लबलाई थर्ड आई एजुकेशनल प्रालिको साथ रहने भएको छ । हेटौँडा–४, अजरअमररोडस्थित थर्ड आईले पिप्ले युवा क्लबलाई नगद २५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ बराबरको खेल सामग्री सहयोग गर्ने भएको छ ।

पिप्ले युवा क्लबले मुख्य प्रायोजकको रुपमा थर्ड आईको साथ पाएको हो । थर्ड आई एजुकेशनल प्रालि जापानिज भाषा कक्षा तथा जापान जान चाहने विद्यार्थीलाई सहजीकरण गर्ने संस्था हो । बिहिबार पिप्ले–क्याम्पा रंगशालामा एक कार्यक्रमका बीच थर्ड आई एजुकेशनल प्रालिका सञ्चालक बेलप्रसाद खतिवडा र पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले संयुक्तरुपमा क्लबको जर्सी सार्वजनिक गर्दै सहयोग सम्बन्धमा जानकारी गराएको छ । प्रायोजक थर्ड आईको लोगो र नाम पिप्ले युवा क्लबले जर्सीमा राखेको छ । एक वर्षका लागि थर्ड आईले गरेको प्रायोजनप्रति खुसी व्यक्त गर्नुहुँदै क्लबका अध्यक्ष सुविन घिमिरेले क्लबलाई विश्वास गरेर प्राप्त सहयोगले लिगमा राम्रो नतीजा हासिल गर्न प्रोत्साहित गरेको बताउनुभयो ।

थर्ड आईका सञ्चालक बेलप्रसाद खतिवडाले आफ्नो व्यवसायको प्रवद्र्धन समेत हुने र क्लबलाई सहयोग पनि पुग्ने गरी सहकार्यको प्रयास गरिएको बताउनुभयो । लोकप्रिय खेलको रुपमा फुटबलसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले पहिलो चरणको सहकार्यसँगै आगामी दिनमा थप साथ र सहयोगका लागि पनि अग्रसर हुने बताउनुभयो ।

सहयोगसम्बन्धी घोषणा कार्यक्रममा वडा अध्यक्ष तथा पिप्ले युवा क्लबका पूर्वअध्यक्ष सुशील घिमिरेको पनि उपस्थिति रहेको थियो । बिहिबार नै हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टका सञ्चालक विनोद भोम्जनले पनि पिप्ले युवा क्लबलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पिप्ले युवा क्लबले लिगको तयारीका लागि सहयोग संकलनको प्रयास जारी राखेको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । ३ लाख रुपैयाँ भन्दा बढी बजेट आवश्यक रहेको र टिमको तयारी समेत भइरहेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

मकवानपुर जिल्ला फुटबल संघले यही भदौ १४ गतेबाट जिल्ला लिग फुटबल आयोजना गर्दैछ । यसअघि भदौ ७ गतेदेखि सुरु गर्ने भनिएको जिल्ला फुटबल लिग प्रतियोगिता खराब मौसमका कारण एक साता सार्ने निर्णय भएको हो । जिल्ला लिगमा २८ वटा क्लबको सहभागिता रहने बताइएको छ । सहभागी टिमको संख्या बढी भएका कारण लिग–कम–नकआउट प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको छ ।