हेटौंडाः ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) मकवानपुर शाखाको पहिलो साधारणसभा सम्पन्न भएको छ । बुधबार भूटनदेवी माध्यमिक विद्यालयमा भएको साधारणसभाबाट कपिला जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
ब्लोदान मकवानपुर शाखाले वर्षमा दुई–तीन पटक रक्तदान गर्ने संस्थाका प्रतिनिधिलाई कार्यसमितिमा चयन गर्ने गरेको छ । समितिको उपाध्यक्षमा समाज कल्याण टोल विकास संस्थाका यतिराज दंगाललाई चयन गरिएको छ । सचिवमा अटो मोबाइल एसोसिएसनका सुधीर थापा र सहसचिवमा दुग्ध वितरण आयोजनाका अरुण शाहलाई चयन गरिएको छ । कोषाध्यक्षमा भूटनदेवी अल्मुनाई एसोसिएसनका सल्लाहकार सुरेशकुमार श्रेष्ठलाई चयन गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
यस्तै, सदस्यमा रामेछाप काभ्रे मौत्री समाजका मानबहादुर लामा, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका रामहरि न्यौपाने, थाहा सञ्चारका गोकुल अधिकारी, नारायणी सहकारीका बिमल घिमिरे, भूटनदेवी माध्यमिक विद्यालयका वेदराज कोइराला र पतञ्जलि योग समितिका रामकृष्ण थापालाई चयन गरिएको जोशीले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहेको छ ।