हेटौँडाः एकीकृत अखिल नेपाल शिक्षक संगठन हेटौँडा उपमहानगर कमिटीले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ को विषयमा हेटौँडा उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष विष्णुहरि गौतम नेतृत्वको समूहले बुधबार नगरप्रमुख मीना कुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि तयार पार्दा पेशागत संगठनहरु र सरोकारवालासँग समन्वय नगरेका कारण ध्यानाकर्षणपत्र बुझाइएको संगठनले जनाएको छ । उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि तयार पारेर शिक्षक बैंकका लागि परीक्षासमेत लिइसकेको सन्दर्भमा शिक्षक संगठनहरुले ध्यानाकर्षणपत्र बुझाइरहेका छन् । यसअघि नेपाल राष्ट्रिय शिक्षक संगठनको हेटौँडा उपमहानगर कमिटीले पनि शिक्षक बैंकको विषयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
शिक्षक संगठनले नौं बुँदामा सुझाव दिएको छ । विद्यालयमा रिक्त भएको पदमा सरुवा भएर आउन चाहने शिक्षकलाई सरुवा गर्नुपर्ने, विद्यालय कार्यालय सहयोगीको व्यवस्था थप गरी न्यूनतम् शैक्षिक योग्यता ८ कक्षा तोक्नुपर्ने सुझाव संगठनले दिएको छ । यस्तै विशेषज्ञको योग्यताको विषयमा पनि संगठनले सुझाव दिएको छ । शिक्षा महाशाखा प्रमुखले नभई नगरप्रमुखले परीक्षा समितिको सदस्य तोक्नुपर्ने पनि संगठनको अपेक्षा छ । संगठनले नगरप्रमुखको अध्यक्षतामा परीक्षा अनुगमन समिति हुनुपर्ने माग गरेको छ ।
संगठनले एक शिक्षक एक ल्यापटपको व्यवस्था गर्नुपर्ने, माध्यमिक तहका विद्यालयमा लेखा र प्रशासन हेर्ने दुईजना विद्यालय सहायक र दुईजना कार्यालय सहयोगी हुनुपर्ने, प्रधानाध्यापकको भत्ता आधार तलबमानको १० प्रतिशत हुनुपर्ने, सबै विद्यालयमा स्वास्थ्यकर्मी र औषधिको व्यवस्था हुनुपर्ने माग संगठनको छ ।
ध्यानाकर्षणपत्र बुझ्नुहुँदै नगरप्रमुख मीना कुमारी लामाले सबैको माग र ध्यानाकर्षणका आधारमा शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधिमा सुधार गर्ने आश्वासन दिनुभएको छ । छिट्टै सबै पक्षलाई राखेर सल्लाह, सुझाव लिएर कार्यविधिमा सुधार गरिने नगरप्रमुख लामाले बताउनुभएको छ । शिक्षा शाखाका अधिकृत हरिचन्द्र सापकोटाको उपस्थितिमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद् सदस्य भोगेन्द्र लुइटेल र राजु घिमिरे, बागमती प्रदेश अर्थसचिव खेमराज लामिछाने, हेटौँडा उपमहानगर कमिटीकी वरिष्ठ उपाध्यक्ष मालती पोखरेल, सचिव विवैलाल पाख्रिनको पनि सहभागिता रहेको थियो ।