हेटौंडाः हेटौंडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ५ महिनामै फेरिएका छन् । भक्तपुरबाट ५ महिनाअघि निमित्त मेसुको रुपमा सरुवा भई हेटौंडा अस्पतालमा आएका डा. श्रीधर अर्यालको सरुवा भएपछि अस्पतालको मेसु फेरिएको हो ।

गत वर्षको चैत महिनादेखि मेसुका रुपमा कार्यरत रहनुभएका डा. अर्यालको भदौ २ गते सरुवा भएपछि अस्पतालको मेसुको जिम्मेवारी पुनः डा. रामचन्द्र सापकोटालाई प्रदान गरिएको छ । हेटौंडा अस्पतालको निमित्त मेसुको रुपमा बागमती प्रदेशको प्रमुख सचिवस्तरीय निर्णयबाट डा. सापकोटालाई नियुक्त गरिएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालको निमित्त प्रमुखमा डा. सापकोटालाई नियुक्त गर्ने निर्णय आइतबार प्रमुख सचिवस्तरीय निर्णयबाट भएको थियो । डा. सापकोटा डा. अर्याल निमित्त मेसुको रुपमा सरुवा भई आउनुअघि हेटौंडा अस्पतालको निमित्त मेसु हुनुहुन्थ्यो ।वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटालाई पुनः मेसु बनाउने निर्णय भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता खगेश्वर गेलालले जानकारी दिनुभयो ।

आइतबार पूर्वमेसु डा. अर्यालको सरुवा भएको थियो । डा. सापकोटालाई पुनः मेसुको रुपमा ल्याउन आफ्नो सरुवा गरिएकोे हुनसक्ने डा. अर्यालले बताउनुभएको छ । डा. सापकोटालाई बुधबार अस्पतालमा मेसुको रुपमा स्वागत गरिएको छ । तीन वर्षअघि हेटौंडा अस्पतालका निमित्त मेसु डा. प्रवीण श्रेष्ठले राजीनामा दिनुभएपछि डा. सापकोटालाई निमित्त मेसुको रुपमा नियुक्त गरिएको थियो ।