हेटौंडाः साहित्य संगम मकवानपुरले ५ जना स्रष्टालाई सम्मान गरेको छ । आइतबार साहित्य संगम मकवानपुरको ३५ औं सन्ध्या दिवसको अवसरमा आयोजित संयुक्त कविता वाचन तथा सन्ध्या सम्मान कार्यक्रममा ५ जना स्रष्टालाई सम्मान गरेको हो ।
संगमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षमा तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । बाल साहित्य क्षेत्रमा छोटो समयमा आफ्नो सिर्जनामार्फत् परिचित हुन सफल हेटौंडा–१० स्थित तुलसीमेहर बोर्डिङकी छात्रा अनुसूया खनाल, समकालीन नेपाली कविताको क्षेत्रमा बलशील कविको छवि बनाउन सफल साहित्यकार प्रतिमा पाठक, सुवास खनाल र साम्ब ढकाललाई सम्मानपत्रसहित सम्मानित गरिएको छ ।
यस्तै, साहित्य संगम मकवानपुरले हरेक महिनाको दोस्रो शनिबार अयोजना गर्दै आएको नियमित साहित्य सन्ध्यामा यो वर्ष सबैभन्दा बढी उपस्थित भएर साहित्यको विकास र विस्तारमा पु¥याउनुभएको योगदानको कदर गर्दै साहित्य सन्ध्या सम्मान २०८१ बाट चेतप्रसाद पौडललाई सम्मान गरिएको छ ।
कार्यक्रममा सम्मानित स्रष्टाहरुले कविता वाचन गरेका छन् । अनुसूया खनालले बिचरी चरी, मेरो गाउँ र मेरो आमा शीर्षकमा रचना वाचन गर्नुभयो भने प्रतिमा पाठकले पनि ३ शीर्षकमा रचना वाचन गनुभएको थियो । उहाँले बुद्ध , बाँकी अर्को पटकलगायत शीर्षकमा कविता वाचन गर्नुभएको हो ।
सुवास खनालले कलेज एक यातना शिविर, ओझनको ओझन र राहत शीर्षकमा कविता वाचन गर्नुभएको छ । यस्तै, साम्बा ढकालले अन्तराल र फटपाट संगम शरणम् गच्छामी शीर्षकको कविता वाचन गर्नुभएको छ । चेतप्रसाद पौडेलले पनि कविता वाचन गर्नुभएको छ ।
साहित्य संगम मकवानपुरले वार्षिक उत्सवको अवसरमा आइतबार बिहान संगमको सभाहलमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा विभिन्न साहित्य क्षेत्रमा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।