हेटौंडाः हेटौंडा अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट एक महिनाको अवधिमा ३२ जना हिंसा पीडितले सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा एकद्वार संकट व्यवस्थापन केन्द्रले ३२ जना हिंसा पीडितलाई सेवा प्रदान गरेको हो ।
केन्द्रको तथ्याङ्कअनुसार साउन महिनामा ३० जना महिला र २ जना पुरुषले लैङ्गिक हिंसासम्बन्धी सेवा पाएका छन् । केन्द्रबाट जबरजस्ती करणी पीडित १२ जनाले सेवा लिएका छन् । यौनजन्य र शारीरिक हिंसासम्बन्धी २–२ जना, घरेलु हिंसासम्बन्धी १० जना र अन्य हिंसासम्बन्धी ६ जनाले केन्द्रबाट सेवा लिएको ओसीएमसीले जनाएको छ ।
मकवानपुरका गाउँपालिकाहरुबाट १६ जना, नगरपालिकाहरुबाट १५ जना र अन्यत्रबाट एक जनाले सेवा लिएको केन्द्रले जनाएको छ । एक महिनाको अवधिमा पुनर्जाँचका लागि ४ जना हिंसा पीडित केन्द्र पुगेका थिए । केन्द्रले विभिन्न प्रकारका हिंसाबाट पीडित भएका महिला, पुरुष तथा अल्पसंख्यकलाई हिंसाबाट मुक्त बनाउँदै आएको छ ।
एकद्वार संकट व्यवस्थापन केन्द्रको लक्षित समूहमा हरेक किसिमका लैङ्गिक हिसाबाट प्रभावित व्यक्तिहरु पर्दछन् । तेस्रोलिङ्गी समूह, लैङ्गिक हिंसा पीडित एकल महिला, अपाङ्गता भएका महिला, बालबालिका र ज्येष्ठ नागरिक महिला, सशस्त्र द्वन्द्व तथा प्राकृतिक विपद्का कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिकाहरू र एचआईभी तथा एड्सबाट सङ्क्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित महिला वा बालबालिकाहरू केन्द्रको लक्षित समूहको रुपमा रहेका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा केन्द्रले २ सय ९४ जना हिंसा पीडितलाई सेवा प्रदान गरेको थियो । एक वर्षको अवधिमा केन्द्रबाट २ सय ७८ जना महिला, १२ जना पुरुष र ४ जना अल्पसंख्यकले सेवा लिएका थिए ।