पत्रकार सम्मेलनको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगर वडा नम्बर १७ लाई आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । शुक्रबार वडामा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै वडाध्यक्ष तथा बालमैत्री स्थानीय सरकार वडा घोषणा मुल समारोह समिति संयोजक उद्वव सत्यालले कार्यक्रमबारे जानकारी गराउनुभयो ।

वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४८ वटा सूचकहरु एक सयप्रतिशत, एउटा सूचक ९८ प्रतिशत, एउटा सूचक ८१ प्रतिशत र एउटा सूचक ८० प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको वडाध्यक्ष सत्यालले बताउनुभयो । वडाभित्र १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १ सय १० रहेकोमा वडालाई निकृष्ट बालश्रममुक्त र बाल विवाहमुक्त गराएको उहाँले बताउनुभयो । भविष्यमा वडा विकास र सञ्चालनको महत्वपूर्ण हिस्सा ओगटेको आजको बालबालिकाको क्षेत्रमा वडाले लगानी गर्नुपर्ने उहाँको भनाइ छ । यस आर्थिक वर्षमा वडाले बालबालिकाको क्षेत्रमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष सत्यालले बताउनुभयो ।

शुक्रबार वडा कार्यालयबाट बिहान १० बजे प्रभातफेरीसहित वडा परिक्रमापश्चात् नेपाल चौर टोल विकासको फुटसल हलमा घोषणा गर्ने तयारी छ । कार्यक्रममा वडा सदस्यहरु कृष्णबहादुर अधिकारी, उर्मिला चुनारा र नगर बाल सहजकर्ता सपना ढुंगानालगायतको उपस्थिति रहेको थियो ।