फाइल तस्विर ।

हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिन सञ्चालन भएको छ । उद्योग विभिन्न कारणले बन्द हुँदा ५२ दिनमात्र सञ्चालन भएको हो ।

गत आर्थिक वर्ष २०८० साउनदेखि २०८१ असारसम्म उद्योग ५२ दिन चलेको हो । कोइला अभाव र मेशिन मर्मतका लागि उद्योग बन्द गरिएको उद्योग प्रशासनले जनाएको छ । कोइला अभावमा एक वर्षमा २ सय ६९ दिन उद्योगले उत्पादन गर्न नसकेको उद्योगका प्राविधिक फाँटका नितिन कर्णले जानकारी दिनुभयो ।

कर्णका अनुसार २०८० साउन यता भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा ८ दिन र फागुनमा १५ दिन गरी उद्योग जम्मा ५२ दिन चलेको हो । यस्तै, उहाँले चालु आर्थिक वर्षको साउन महिनामा एक दिन उद्योग चलेको जानकारी दिनुभयो ।

उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले कोइला अभावका कारण उद्योगको उत्पादन बन्द गर्नु परेको बताउनुभयो । कोइला खरिद गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उहाँले बताउनुभयो । उद्योगका पुराना उपकरण बिग्रिइरहने समस्याका कारण पनि नियमित सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ छ ।

अहिले पनि मेशिन मर्मतको काम चलिरहेको उहाँले बताउनुभयो । कोइला अभावको बेला उद्योग बन्द हुँदा मर्मतको काम गर्ने गरेको महाप्रबन्धक पाण्डेले बताउनुभयो । कोइला सप्लायर्सको बक्यौता रकम धेरै भएका कारण कोइला आपूर्ति ठप्प रहेको उहाँले बताउनुभयो ।

‘गत आर्थिक वर्षको फागुनमा १५ दिन चलाएको उद्योग कोइला अभावका कारण अहिलेसम्म बन्द छ । उद्योगमा जसोतसो प्राप्त हुने कोइलाले १० दिन पनि सञ्चालन गर्न पुग्दैन’, महाप्रबन्धक पाण्डेले भन्नुभयो– ‘हामीसँग भएको स्टक कोइलाले १०/१५ दिन उद्योग सञ्चालन गरेर केहि फाइदा छैन । भएको कोइला सकिएपछि फेरि पनि उहि कोइलाको समस्या देखाएर उद्योग बन्द गर्नुपर्छ ।’ उद्योग बर्सेनि घाटामा रहेको र कोइलाको पैसा नै करोडौं तिर्नुपर्ने उहाँले जानकारी दिनुभयो । कोइला सप्लार्यसलाई तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा कोइला आउन नसकेर उत्पादन नै बन्द गर्नु परेको उहाँको भनाइ छ ।

फागुनदेखि उत्पादन ठप्प
पछिल्लो ४ महिनादेखि उद्योगको बन्द अवस्थामै छ । गत फागुनदेखि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आउन सकेको छैन । फागुनदेखि उद्योग पूर्णरुपमा ठप्प छ ।

पछिल्लो समय २०८० फागुन महिनादेखि बन्द रहेको उद्योग २०८१ साउनमा एकदिन क्लिङ्कर उत्पादनका लागि चलेको उद्योगका महाप्रबन्धक कर्णले बताउनुभयो । उहाँका अनुसार उक्त एकदिन चलेको उद्योगले १५८ टन क्लिङ्कर उत्पादन गरेको थियो । उद्योग त्यसपछि बन्द छ ।

उद्योगका करिब १८० जना स्थायी कर्मचारी र एक सय जनाभन्दा बढी ज्यालादारी कर्मचारी कामबिहीन छन् भने हाल स्टक रहेको सिमेन्ट बिक्री गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन । हाल उद्योगमा करिब २० हजार बोरा सिमेन्ट स्टक रहेको उद्योगका नायब प्रबन्धक नवीन कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको मेशिन मर्मत गरेपछि पनि उद्योक लामो समयसम्म चलाउन सक्ने अवस्था छैन । उद्योगसँग जम्मा १५/२० दिनलाई पुग्ने १२/१३ सय टन कोइलामात्रै बाँकि छ ।

समस्याको टार्न रोपवे बिक्रीको प्रयत्न
लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण बिक्रीका लागि उद्योगले पुनः प्रयास सुरु गरेको छ । करिब ६ वर्षअघि पनि रोपवेको सामग्री लिलाम बिक्रीका लागि पटकपटक आह्वान गरिए पनि कसैले इच्छा नदेखाएपछि काम भएको थिएन ।

यस पटक उद्योगले रोपवेको सामग्री पुनः मूल्यांकनका लागि भण्डार शाखा प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा समिति नै बनेको छ । केही महिनाअघि बनेको मूल्यांकन समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक विभागबाट १/१ जना र उद्योगबाट २ जना प्रतिनिधि रहेका छन् । समितिले मूल्यांकनको काम अन्तिम चरणमा पु¥याएको र समितिको प्रतिवेदन उद्योग सञ्चालक समितिबाट पास गरी रोपवे लिलाम बिक्रीको सूचना निकालिने उद्योगले जनाएको छ ।

भैंसेदेखि उद्योगसम्म चुनढुंगा ढुवानीका लागि बनाइएको ११ किलोमिटर लामो रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पाटपूर्जा उद्योगले बिक्री गर्न लागेको हो । मर्मतसम्भार गरेर सञ्चालन गर्न करोडौं खर्च लाग्ने भएपछि जीर्ण बन्दै गएको रोपवे लिलाम गर्ने तयारीमा उद्योग लागेको हो । उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैंसेको खानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याएको रोपवे २०६१ सालदेखि बन्द छ ।

२०६० सालमा आएको बाढीपहिरोले भैंसेको त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो । करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि रोपवे बन्द भएको थियो । २०४३ सालबाट २ दशकसम्म भैंसे खानीबाट चुनढुङ्गा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको थिएन । टावर, स्टेशन, सवस्टेशन भत्कने, क्यारियरहरु पनि झर्ने गरेपछि उद्योगले बिक्री गर्न लागेको हो ।

प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेका थिए । हाल केही बकेटहरु बिग्रिएर झरिसकेका छन् ।