मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले जारी गरेको माग

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको प्राध्यापक कल्याणकारी समितिले ५ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको हो । समितिले बिहीबारदेखि कालोपट्टी लगाई विरोध जनाउन थालेको छ ।

चिकित्सा शिक्षा आयोगको मापदण्ड र प्रतिष्ठानको करार नियमावली २०७८ अनुसार प्राध्यापकहरुलाई तुरुन्त बढुवा तथा स्थायित्व प्रदान गर्न प्रतिष्ठानसमक्ष माग गरिएको छ । यस्तै, समान पद, समान कार्यका साथै विभेदपूर्ण पारिश्रमिकको अन्त्य गर्न, शिक्षक सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०७७ विभेदपूर्ण तरिकाले संशोधन गर्न लागिएको विषय सच्याई अघि बढ्न, विभिन्न समयमा भएको सम्झौतालाई तत्कालै कार्यान्वयन गर्न र विद्यार्थीका जायज मागहरूको यथोचित सम्बोधन गर्न प्राध्यापक कल्याणकारी समितिले माग गरेको छ ।

समितिले प्रतिष्ठानमा ब्यानर टाँसेर विरोध गर्दै ५ बुँदे माग पूरा गर्न ध्यानाकर्षण गराएको छ । कल्याणकारी समितिले आफ्ना मागहरुसहित साउन २९ गतेदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाका अनुसार समितिले धेरै पटक प्राध्यापकहरुको हक, हितका माग लिएर शिक्षाध्यक्ष डा. सुरेन्द्र सेरचनलाई भेट्ने, प्रचार र ध्यानाकर्षका गराउँदै आएको छ । ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म कुनै माग सम्बोधन नभएको उहाँको भनाइ छ । आफूहरुको माग सम्बोधन गर्नुको सट्टा धम्कीको भाषा प्रयोग गरी थर्काउने, बेवास्ता गर्नेजस्ता कार्य गरिएको उहाँले बताउनुभयो ।

आफ्ना मागहरुलाई लिएर ३० जना प्राध्यापकको हस्ताक्षरसहित शिक्षाध्यक्षलाई सोमबार खुलापत्र दिइएको तर सुनुवाई हुनुको सट्टा बेवास्ता गरिएकाले आन्दोलन सुरु गर्नुपरेको अध्यक्ष सापकोटाको भनाइ छ । बिहीबार समितिले १ घण्टा प्रतिष्ठानको केन्द्रीय कार्यालयमा उपस्थित भई कालोपट्टी बाँधेर ब्यानरसहित गेटको अगाडि शान्तिपूर्ण आन्दोलन गरेको थियो । प्राध्यापकहरू हिँडेलगत्तै ब्यानर हटाइएको सापकोटाले बताउनुभयो । शिक्षाध्यक्षले केहि मागहरू सम्बोधन भएको र केहीका लागि कार्यदल बनाई माग सम्बोधन गर्ने प्रयास गरिने उल्लेख गर्नुभएको छ । कार्यदलले प्रतिवेदन पेश गरे पनि प्राध्यापकको हितमा निर्णय नहुँदासम्म आन्दोलन गरिरहने सापकोटाले बताउनुभयो । प्राध्यापकहरुले गत मंसिर महिनामा पनि आन्दोलन गरेका थिए । त्यसबेला भएको सम्झौत पूर्णरूपमा पालना नगरिएको सापकोटाले बताउनुभयो ।