रास्वाले व्यवसायीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सार्वजनिक गरेको विज्ञप्ति ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व अभिवृद्धि गरेको विषयमा व्यवसायीको आन्दोलनप्रति राजनीतिक दलहरुले पनि ऐक्यवद्धता जनाउन थालेका छन् । पहिलो चरणको आन्दोलन जारी रहेको चौथो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले ऐक्यवद्धता जनाएको हो ।

बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपा, माओवादी र नेपाली काँग्रेसले समर्थन जनाएको हो । यसअघि नेकपा एमाले सम्वद्ध बहुमत नगरसभा सदस्यहरुले बुधबार नै विशेष नगरसभाको माग गर्दै नगरप्रमुखलाई सम्बोधन गरेर निवेदन दर्ता गराएको छ । नगरप्रमुख मीना कुमारी लामाको अनुपस्थितिका कारण विशेष नगरसभाको माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ४८ जना नगरसभा सदस्यको हस्ताक्षरसहित निवेदन दिएको छ ।

नेकपा माओवादी केन्द्रले व्यवसायीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सार्वजनिक गरेको विज्ञप्ति ।

देश नै आर्थिक मन्दिको मारमा परेर व्यवसायीहरु धरासायी हुँदै घर भाडा र राज्यको न्युनतम नवीकरण दस्तुर समेत तिर्न नसक्ने स्थितिमा उपमहानगरपालिकाले ३०० प्रतिशतसम्मको राजश्वको दर बढाएकोप्रति रास्वपाको ध्यानाकर्षण भएको जनाएको छ । रास्वपा हेटौँडा उपमहानगर समितिका सभापति ध्रुव विष्ट, निर्वाचन क्षेत्र नम्बर १ का सभापति टाकाराज थापा र सचिव किशोर अर्यालको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा विषम् परिस्थितिमा सकेसम्म करमा सहुलियत दिनुपर्नेमा उल्टै कर बढाएर जनतामाथि उपमहानगरपालिकाले शोषण गरको दावी गरिएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगर समितिले पनि उपमहानगरले राजश्वको दरमा अत्यधिक वृद्धि गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । व्यवसायीको आन्दोलनप्रति समर्थन जनाउँदै माओवादी केन्द्रले नागरिकको ढाड सेक्ने गरी करको दर वृद्धि गरिएकोप्रति आपत्ति जनाइएको छ । “उपमहानगरले औचित्य पुष्टि हुन नसक्ने गरी मनपरी ढंगले करको दरमा वृद्धि गर्नु जति नाजायज छ, यस विषयमा राजश्व परामर्श समिति, कार्यपालिका र नगरसभामा गम्भीरतापूर्वक छलफल नहुनु दुखद् छ” नेकपा माओवादी केन्द्रका हेटौँडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगरले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिले जारी गरेको विज्ञप्ति ।

नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिले पनि विज्ञप्ति जारी गर्दै विभिन्न शीर्षकमा हेटौँडा उपमहानगरपालिकाले करको दर बढाएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले जारी गर्नुभएको विज्ञप्तिमा नगरसभामा पर्याप्त छलफल नगरी करको दर वृद्धि गर्नु गम्भीर त्रुटी भएको उल्लेख गरिएको छ । आन्दोलनरत व्यवसायीका मुद्दालाई छिटो सम्बोधन गर्न विज्ञप्तिमार्फत काँग्रेसले अनुरोध समेत गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा करको दर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित छन् । शुक्रबार बिहान व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकालाई बुझाउने कार्यक्रम रहेको छ ।