अरुबेला कानमा तेल हालेर मरिमस्तसँग सुतिरहेका सरोकारवालाहरु माध्यमिक शिक्षा परीक्षाको नतिजा आउनासाथ कोको होलो मच्चाउन थाल्छन् । किनकि अधिकांश सामुदायिक विद्यालयमा अनुत्तीर्ण विद्यार्थीको संख्या उत्तीर्ण हुनेको भन्दा कता हो कता बढी हुन्छ । कतै कतै त पास हुनेको संख्या एक जना पनि भेटिन्न । यसको कारण खोजेर त्यसलाई हटाउने कष्ट गर्ने कोही फेला पर्न मुश्किल हुन्छ । बरु चाहिने नचाहिने तर्कको खेती गर्दै शिक्षामा सक्रिय एउटा पक्षले अर्को पक्षलाई सकेसम्म ठूलो पारेर दोषको पगरी गुथाउँछ । जस जति आफूतिर तान्ने र दोष जति ठेलमठेल गरेर अर्काको थाप्लोमा थोपर्ने प्रतिस्पर्धा नै चल्छ । निर्जीव पाठ्यपुस्तक र पाठ्यक्रम देखि लिएर सजीव शिक्षक, प्र.अ, विद्यार्थी, विब्यस, सिअसं, अभिभावक, जनप्रतिनिधि, प्रशासक मात्रै होइन सरकारले समेत दोषको घानमा पर्नु पर्छ । आफ्ना कमी कम्जोरी के के रहे कसैले हेर्दैन । अरुलाई दोष थुपारेर सबै पानी माथिको ओभानो हुन खोज्छन् । अरुका कुरा कसैले सुन्दैनन् । एक पक्षको कुरा अर्को पक्षले सुन्दै नसुनेपछि सबै सरोकारवालाहरु अन्तमा कराउँदा कराउदै थकित हुन्छन् र चुपचाप लाग्छन् । फेरि नतिजा त्यस्तै भएर आउँछ । सरोकारवालाहरु फेरि पनि कराउँछन् । केही समय पछि थाकेर फेरि शान्त हुन्छन् । निरन्तर विद्यमान यो गोलचक्कर भङ्ग हुने अवस्था अहिलेसम्म देखिएको छैन । यो चक्कर पहिले थियो, अहिले पनि छ । वर्तमान चालचलन हेर्दा यो क्रम पछि पनि रहला जस्तो देखिन्छ ।

विद्यार्थी फेल भएपछि त्यसको दोष को मूख्य भँगालो सर्वप्रथम शिक्षक तिर सोझिन्छ । किनकि विद्यालयमा उनीहरुको नियुक्तिनै विद्यार्थीलाई पढाउनकै लागि भएको हो । मात्रै तलब खाने मानिस अरु कोही नभेटेर होइन । त्यसैले विद्यार्थी फेल भएभने अभिभावकहरु शिक्षकलाई नै पहिला झम्टिन्छन् । शिक्षकले पढाएनन् भन्ने उनीहरुले लगाएको आरोप लाई खण्डन गर्न सबैलाई ठूलै बल पर्छ । पढाउनु भन्नाले कक्षा कोठाभित्र छिरेर शिक्षकले एकोहोरो बोल्नु मात्रै होइन । पढाउनु भनेको कक्षा कोठाभित्र हुने शिक्षक विद्यार्थी बिच अन्तरक्रियात्मक क्रियाकलाप हो । जसले कुनै पाठ्यवस्तु सिक्न वा बुझ्न सम्भव गराउँछ । विद्यार्थीले बुझ्ने भाषामा विषयवस्तुको प्रस्तुतिकरण गर्नु, उपयुक्त उदाहरण दिएर वा शैक्षिक सामग्री सहित ब्याख्या गर्नु, कक्षाकार्य गराउनु, आवश्यक भए गृहकार्य पनि दिनु, समय समयमा परीक्षा लिएर कपी परीक्षण गरी पृष्टपोषण दिनु पनि पढाउनु नै हो । कमजोर सिकाइ क्षमताका विद्यार्थीलाई अतिरिक्त तथा उपचारात्मक शिक्षण गर्नु पनि शिक्षकको दायित्व भित्र पर्छ । कमजोर सिकाईका विद्यार्थीको पहिचान समयमै गरेर शिक्षकले उनीहरुको क्षमता विकासको लागि रणनैतिक कार्ययोजना तयार गरी लागु गर्ने हो भने पनि उत्तीर्णको संख्या बढाउन सकिन्छ । समयमै कोर्ष पुरागरेर शिक्षकले विद्यार्थीलाई पुनर्वल दिन सक्नु पर्छ तर कक्षामा नजाने, गए पनि ढिलो गर्ने, पुरै समय नपढाउने, मोबाइलमा लामो समयसम्म अरुसँग कुराकानी गर्ने, पढाउनुको सट्टा कक्षा कोठाभित्र मोबाइल खेलेर बस्ने, पढाइ छोडेर “दाई” “भाउजु” “काका” “बा” कहाआशिर्वाद लिन जाने गर्दा, कोर्ष पुरा हुँदैन र अनुत्तीर्णको संख्या बढ्छ । मन्त्री हुँदा माननीय सुमना श्रेष्ठले एउटा राम्रो कामको थालनी गरेकी थिइन् । धेरै शिक्षकहरुले दलको सक्रिय सदस्यताबाट राजिनामा दिएको लोकप्रिय समाचार भाइरल भएको थियो । तर त्यो राजिनामा कागजमा मात्रैसीमित भयो कि मनभित्र पनि छ ? हेर्न बाँकी छ ।

खाली कुर्सी भेट्नु मात्रै पर्छ । कतिपय गुरुबा आमाहरु शिक्षक कोठाबाट बाहिर निस्किन मन गर्दैनन् । घण्टीको आवाजले वहाँहरुको निन्द्रा खुल्दैन । कसैन कसैले कुर्सीबाट उप्काएर वहाँहरुलाई कक्षा कोठासम्मको बाटो देखाउँन अघि सार्नुपर्छ । विद्यालयमा कसले के काम गर्ने हो त्यो भन्नलाई एकजनाको मुख चाहिन्छ । त्यसकारण हरेक विद्यालयले शिक्षकहरु मध्येबाट एक जनालाई विशेष मानमर्यादा, सुविधा र भत्ता दिएर प्रअ तोकेको हुन्छ । प्रअ बिना विद्यालय नेतृत्व विहिन हुन्छ । नरम सोफामाथि अपानबायु छोडेर मात्रै पदावधि काट्न प्रअ चाहिएको होइन । जिम्मेवारीको हिसाबले प्रअ नै विद्यालय सम्बन्धि उठेका हरेक जटिल प्रश्नको उत्तरदायी हुन्छ । त्यसैले शैक्षिक परीक्षाको नतीजा निस्केको केही दिन सम्म प्रअ लाई स्कूलमा देखिन मुश्किल पर्छ । घण्टी लागेपछि गुरुबाआमालाई दैनिक कार्यतालिका अनुसार कक्षा कोठा भित्र हुल्न मात्रै होइन कक्षा के कसरी चलेको छ? त्यसको निरीक्षण र सुपरिवेक्षण गर्नु पनि प्रअ कै काम हो । शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय सबैसँग समन्वय गरेर विद्यालयमा उपयुक्त शैक्षिक वातावरण कायम गर्नु प्रअ कै जिम्मेवारी भित्र पर्छ । शैक्षिक उपलब्धि बढाउनको लागि रणनीति तयार गर्नु, शिक्षकहरु संगको सहकार्यबाट वार्षिक कार्यतालिका निर्माण गरी समय मैं कार्यक्रम सम्पन्न गर्नु, खाली भएको कक्षाहरुमा सट्टा शिक्षक पठाउनु, आवश्यक शैक्षिक सामाग्री व्यवस्था गर्नु, विद्यार्थीलाई अनुशासन सिकाउनु, अनावश्यक रुपमा बाहिर निस्कने विद्यार्थीहरुलाई कक्षा कोठा भित्र पठाउनु, विद्यालयको सम्पत्ति,खानेपानी, शौचालय, खाजाघर रेखदेख गर्नु, छात्राहरुकालागि स्यानीटरी प्याडको व्यवस्था गर्नु तथा पठनपाठनमा बाधा पुर्याउने सबै व्यवधानहरु हटाउनु प्रअको जिम्मेवारी हो । एउटा शिक्षकले उसको विषयको जिम्मेवारी लिन्छ भने प्रअले विद्यालयको समग्र सपार–बिगारको जिम्मेवारी लिनु पर्छ । कुनै पनि विद्यालय सफल बन्नको लागि प्रअको भूमिका महत्वपूर्ण हुन्छ । प्रअको प्रभावकारीता विद्यालयको शैक्षिक नतिजाले देखाउँछ, त्यसैले शैक्षिक नतिजा खस्कियो भने त्यसको दोष सबैभन्दा बढी प्रअले नै पाउँछ ।

विद्यालयको नतिजा खस्किदा दोष पाउने अर्को समुदाय पनि छ । त्यो हो विद्यार्थी। मावि तहका विद्यार्थीको उमेरले आत्मनिर्भरता बिनाको स्वतन्त्रता र निरपेक्ष सुखको कामना गर्छ । त्यसैले विदाको सुचना शिक्षकले सुनाउँदा विद्यार्थीहरु खुसी भएर कराउँछन् उफ्रिन्छन् । किनकि उनीहरुलाई पढाइ भन्दा बिदा मन पर्छ । उनीहरुलाई मन लागेपछि जस्तो सुकै काम गर्न पनि तयार हुन्छन् । पढाइमा रुचिहिन अधिकांश विद्यार्थीहरु गायन, नृत्य र खेलकुदमा कति सिपालु हुन्छन् ? किनकि उनीहरुलाई ती क्रियाकलापहरु पढाइभन्दा बढी मनपर्छ । किताब हेर्न अघि नसर्ने केटाकेटीहरु मोबाइल हातमा परेपछि जति भोकलाग्दा पनि बाबुआमाले बोलाउँदा तुरुन्तै खान पनि आउदैनन् । किनकि मनपरेको काममा धेरै लगाव हुन्छ । केही विद्यार्थीहरुको अध्ययनप्रति अरुची, अनुशासनहिनता र अनियमिततालाई देखाएर केही शिक्षकहरु आ—आफ्ना भागमा परेका दोष बढार्न खोज्दछन् । तर यो बहाना तार्किक हुँदैन । किनकि अध्ययनप्रति रुचिहिन र अनियमित विद्यार्थी अरु विषयमा चाहिं कसरी पास भयो ? नर्सरी कक्षामा भर्ना भएर त्यही विद्यालयको कक्षा १० मा पुगेको विद्यार्थीले कहाँबाट अनुशासन सिक्यो ? यस्ता प्रश्न जति पनि उठ्न सक्छन् । बरु निष्कृय विद्यार्थीहरु फेल हुन सक्छन् । किनकि एउटा निष्कृय विद्यार्थीलाई सिकाउँन सकिन्न, घोडालाई नदीतिर लैजान सकिन्छ तर त्यसले नचाहेसम्म त्यसलाई पानी खुवाउन सकिन्न । त्यसैले शिक्षकले उसलाई सिक्न तयार बनाउनु पर्छ । नत्र पर्खाललाई साढे लगाएर बाछो खोजे जस्तै हुन्छ । विद्यार्थीले सुनेर, देखेर र गरेर कुनै पनि कुरा सिक्ने हुन् । शिक्षकले पढाउने नाममा बोलिरहने र विद्यार्थीले निष्क्रियतापूर्वक सुनिरहनेलाई पढाई भनिदैन । पढाई हुनको लागि सिकारु पनि सक्रिय हुनु पर्छ । शिक्षकले उसलाई सक्रिय बनाउनु पर्छ । बुझ्न खोज्नु भन्दा याद गर्नु, पाठ्यवस्तु नबुझ्दा पनि चुपचाप बस्नु, कक्षामा पढाई नहुँदा कतै गुनासो नगर्नु, पढाई हुँदा भन्दा नहुँदा खुसी मान्नु, प्रायः कक्षा छोडेर भाग्नु, कक्षा कार्यमा सक्रिय नहुनु शिक्षकले पढाएकोमा ध्यान नदिनु, निष्क्रिय सिकारुको लक्षण हो । विद्यार्थी निष्क्रिय सिकारु भए भने नतिजा बिग्रिनु निश्चित हुन्छ ।

अभिभावकहरु पनि दोषबाट उम्किन मिल्दैन । अभिभावकका लागि केटाकेटी सबैभन्दा महत्वपूर्ण सम्पदा हुन । केटाकेटीले पढाइमा राम्रो गरे भने अभिभावककालागि बुढेसकालमा राम्रा साहारा बन्छन् । नत्र जीवनमा एउटा ठूलो बोझ थपिन्छ । कतिपय अभिभावकहरु आफ्ना केटाकेटी को पढाई कस्तो छ ? बुझ्नको लागि कहिले पनि स्कूल जादैनन् । बालबालिकालाई स्कूल गेटभित्र हुल्ने बित्तिकै आफ्नो कर्तव्य पुरा भएको ठान्ने अभिभावक पनि खराब नतिजाका दोषी हुन् । समय समयमा स्कूल गएर अभिभावकले आफ्ना बालबालिकाको पढाई कस्तो छ ? बुझ्नु पर्छ । स्कूल जान्छु भनेर बालबालिका अन्त्तै पो जान्छ कि ? कक्षा कार्य गर्छन् गर्दैनन् ? विद्यालयको कार्यक्रममा भाग लिन्छन् लिदैनन् ?समय समयमा गएर बुझ्नु पर्छ । अभिभावकले केटाकेटीलाई स्वस्थ्यकर खानपान, भावनात्मक सुरक्षा, शैक्षिक सामाग्रीको अभाव हुन दिनु हुन्न । समय समयमा प्रअ तथा विषय शिक्षकलाई भेटेर अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक अवस्था बुझिरहँदा पनि नतिजा राम्रो भएको प्रमाण प्रशस्तै भेटिन्छ । विद्यालयको सर्वपक्षीय विकासको लागि समेत अभिभावकको ठूलो भूमिका हुन्छ ।

विद्यालयको सबैभन्दा महत्वपूर्ण समुदाय भनेका विद्यार्थी हुन् । किनकि विद्यार्थी भएकोले त्यहाँ विद्यालय चाहिएको हो । भवन, फर्निचर, शैक्षिक सामग्री, छात्रबृत्ति, शैक्षिक जनशक्ति सबै चाहिएको हो । प्रअ, शिक्षक, विब्यस, शिअसं सबैको व्यवस्था विद्यार्थीकै लागि भएको हो । विद्यालय वित्तीय संस्था होइन । यो राजनीतिक संस्था पनि होइन । यो एउटा विशुद्ध शैक्षिक संस्था हो । यो एउटा सेवा गर्ने ठाउँ हो । राजनीति गर्ने र पैसा कमाउन ठाउँ होइन । त्यसैले यहाँ काम गर्छु भनेर आउनेले पठनपाठनलाई नियमित व्यवस्थित र प्रभावकारी बनाउन सक्नु पर्छ । बिदाको दिनभन्दा कार्यदिन लाई बढाउनु पर्छ । किनकि विद्यालयमा जति बढि कार्य दिन हुन्छ त्यति बढी यसको नतिजा राम्रो आउँछ । सबै विषयका शिक्षक सुनिश्चित नभए सम्म रिजल्ट बन्दैन । बरण्डामा जुत्ता बजाउँदै शिक्षकलाई थर्काएर पदावधि काट्नु भन्दा कहाँ कहाँ पुगेर हुन्छ सबै विषयको शिक्षकको व्यवस्था गर्नु विब्यस सक्रिय हुनु पर्छ । पठनपाठनमा बाधा पुर्याउँने भाौतिक व्यवधान हटाउनु पर्छ । राम्रा जति सबैलाई हाम्रा बनाउँन चाहिने फराकिलो मन दलहरुमा बढी मुस्किलले भेटिन्छ । विद्यालयलाई हाम्रा मानिसले भन्दा राम्रा मानिसले भर्नु पर्याे । अनि मात्र नतिजा सुध्रिन्छ । कसैले कसैलाई फत्तुर लगाउनु पर्दैन ।

हामी कहाँ हरेक दलले आफु निकट शिक्षकहरुको लागि एक एक थान पेसागत संगठन खोलिदिएका छन् । दलकै हितमा ती संगठनले पेसागत मागलाई अघि सारेर यदाकदा ठूल्ठूला आन्दोलन पनि गरिरहन्छन् । कक्षा कोठामा भेटिनु पर्ने शिक्षकहरु विभिन्न बहानामा दलका कार्यक्रममा भेटिन थाले पछि कसरी विद्यार्थीको सिकाइ उपलव्धि माथी जान्छ ? सिकाई उपलव्धि माथि नगए सम्म कसरी नतिजा सुध्रिन्छ ? पेसागत सुबिधाका लागि मरिमेटेर अगाडि बढ्ने शिक्षकहरुलाई पेसागत जिम्मेवारी पूरा गर्न पनि बेसगरी अघि बढ्न कसले प्रेरित गर्ने ? पेसागत संगठनहरुले जवाफ दिनुपर्ने बेला भएन र ? जिविस मकवानपुरका पूर्व सभापति रहिसकेका हाल दिवंगत क. विरबहादुर लामाले एक पटक पेसागत संगठनलाई कामचोर लुक्ने ओडार भनेकाथिए । यसलाई पेसागत संगठनका त्यस बेलाका केही पदाधिकारीहरुले मुखले त खण्डन गरेका थिए तर यो कामले खण्डन गर्नुपर्ने आरोप थियो । पेसाप्रति जिम्मेवार भएर खण्डन नगरे सम्म त्यो आरोपको भारी पन्छिन सक्तैन भन्ने धेरैको बुझाई छ । शिक्षकलाई जिम्मेवारीप्रति प्रतिवद्ध गराउन नसकेसम्म पेसागत संगठनलाई लागेको आरोप बिदा हुँदैन ।कतिपय जिल्लामा परीक्षा हल वरिपरि चिट चोराउनेको भिड लाग्ने, सेटिङ्मा एउटा मानिसले अर्काको नाममा परीक्षा दिने, अनियमित गतिविधि गरेकोले परीक्षा गार्डलाई नै निकाल्नुपर्ने जस्ता गतिविधि अहिले केही घटे पनि शुन्य भइसकेको छैन । पुनःपरीक्षा र पुनःप्रयोगबाट प्राप्ताङ्कमा ठूलो मात्रामा भएको तलमाथि देख्दा हामीलाई राष्ट्रिय परीक्षा बोर्डको भागमा पनि केही दोष राख्नु पर्ने बाध्यता पर्छ ।

दरबन्दी मिलान गर्ने ठाउँका मानिस पनि दोषबाट उम्किन पाउँदैनन् । पहिले सरकारले गथ्र्यो अहिले स्थानीय निकायले गर्न पाउँछ । दरबन्दी मिलानका कुरा समय समयमा उठिरहन्छ । तर मान्छे मिलानमा पुगेपछि सबै प्रकृया थन्किन्छ । एउटा विषय पढाउने धेरै शिक्षक एउटै स्कूलमा रहनु र कतै त्यो विषयका एउटा शिक्षक पनि नहुनु यसका उदाहरण हुन । हाम्रो र पैसा बुझाउनेलाई राम्रो भन्ने प्रबृत्तिले नतिजालाई रसातलमा पुर्याउँछ । तरकारी चाहियो भनेर भोजका दिन फर्सि रोपेर हुँदैन । समय मैं रोप्नु पर्छ । शैक्षिक सत्रको सुरुवात देखिनै कमजोर सिकाई क्षमताका विद्यार्थी पहिचान गरी अतिरिक्त तथा उपचारात्मक कक्षा नियमित रुपले चलाउँने हो भने नतिजा सुध्रिन्छ । शिक्षामा सम्बन्धित सबै पक्षले आ–आफ्ना भागमा परेका जिम्मेवारीलाई इमान्दारीता पूर्वक पूरा गर्ने हो भने शिक्षामा सुधार आउँन सक्छ । सबैमा जिम्मेवारीबोध र लोकलाजको भावनाको जगमा मात्रै शिक्षाको सुधार सम्भव हुन्छ ।

सारमा जहाँ पढाइ नियमित हुन्छ । त्यहाँ नतिजा राम्रो हुन्छ । जहाँ पढाइ नियमित हुन्न त्यहाँ नतिजा बिग्रिन्छ । विषयगत नतिजा यस्तै हुन्छ । पठनपाठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले नकारात्मक प्रभाव पार्ने सबै पात्र प्रवृत्ति घटना, परिघटना खराब शैक्षिक नतिजाका दोषी हुन् ।