हेटौँडाः विश्वविद्यालय तहमा वनविज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रि वनविज्ञान विद्यार्थी संगठन (इफ्सा) हेटौँडाको अध्यक्षमा कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत वनविज्ञान संकायमा स्नातक तह तेस्रो वर्षका विद्यार्थी सरोज न्यौपाने चयन हुनुभएको छ । मंगलबार हेटौँडामा सम्पन्न वार्षिक सभाबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
ईफ्सा हेटौँडाको उपाध्यक्षमा सुजित चिलवाल, सचिवमा दिपेश श्रेष्ठ, उपसचिवमा कुसुम कुमारी खड्का, कोषाध्यक्षमा डेनिसा पौडेल, कार्यक्रम संयोजकमा पूर्णिमा भुषाल र कृष्णदीप ढुंगाना, प्राविधिक संयोजकमा रितेश चौधरी र छत्र शाही, सदस्यमा मनिष कँडेल, वीरेन्द्र रोकाया, सुदीप भुषाल र सुष्मा बोगटी चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल एक वर्षको हुनेछ ।
संस्थापक अनिल सुवेदीको अध्यक्षताको समितिले पहिलो अधिवेशन आयोजना गरेर नयाँ नेतृत्वलाई ईफ्सा हेटौँडाको स्वामित्व हस्तान्तरण गरेको हो । ईफ्सा हेटौँडाका निवर्तमान समितका कार्यवाहक सचिव सिर्जना सुवेदीका अनुसार हेटौँडास्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वनविज्ञान क्याम्पस र कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गतको वनविज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागितामा ईफ्सा हेटौँडा स्थापना गरिएको हो ।
ईफ्सा हेटौँडाको वार्षिक सभाको अवसरमा नमूना संसदको अभ्यास समेत गरिएको थियो । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा उद्घाटन भएको नमूना संसद अभ्यासमा सभामुखको भूमिकामा आशिष कुँवर रहनुभएको थियो । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत हेटौँडामा रहेका दुईवटा क्याम्पसमा स्नातक तहमा छ सयभन्दा बढी विद्यार्थी वनविज्ञान विषय अध्ययनरत छन् ।