विशेष नगरसभाको मागसहितको निवेदन दर्ता गराएपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष नवीन सिग्देल ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै उपमहानगरपालिकामा निवेदन दर्ता गराएको छ । राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक देखिएको भन्दै नेकपा एमाले सम्वद्ध नगरसभा सदस्यहरुले बुधबार दिनको ४ बजे उपमहानगरपालिकामा निवेदन दर्ता गराएको हो ।

नगर सभाको सदस्य सचिव समेत रहनुहुने प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई विशेष नगरसभा आव्हान गर्न माग गर्दै ४८ जना सदस्यले निवेदन हस्तान्तरण गरेका छन् । नगरप्रमुख मीना कुमारी लामा काठमाडौं रहनुभएकोले नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन बुझाएको हो । नगरसभाका एकतिहाई सदस्यले विशेष सभा बोलाउन माग गरेर निवेदन दर्ता गराएको १५ दिनभित्र नगरप्रमुखले नगरसभा बोलाउनु पर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा छ ।

नगरसभा आव्हानको माग गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन हस्तान्तरणपछि नगरसभा सदस्यहरुले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नगरसभा सदस्य एवम् हेटौँडा उपमहानगरपालिकाका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले व्यवसायी र नगरवासीले राजश्वको दर वृद्धिको विषयमा विरोध गर्दै आन्दोलनमै पुगेपछि समस्या समाधानका लागि विशेष नगरसभा बोलाउन माग गरिएको बताउनुभयो ।

नगरवासी, व्यवसायीको व्यापक विरोध भएर आन्दोलनमै गइसकेको सन्दर्भमा नगरप्रमुख र उपप्रमुखकै तहबाट समस्या समाधानको प्रयास हुनुपर्ने विपरित पछिल्लो नगर कार्यपालिकाको बैठकमा व्यवसायीलाई आश्वासन दिएर पनि नगरप्रमुख, उपप्रमुख व्यवसायीका मागका विषयमा छलफल समेत गर्न अनिच्छुक देखिएपछि नगरसभा सदस्यको रुपमा आफूहरु विशेष नगरसभा आव्हान गर्न बाध्य भएको उहाँको भनाइ छ । हिजो राजश्वको दर निर्धारण गर्ने विषयमा उपप्रमुख संयोजकत्वको राजश्व परामर्श समिति र बजेट समिति हुँदै कार्यपालिका बैठक र नगरसभामा समेत स्पष्ट जानकारी नगराई बजेट र आर्थिक ऐन पारित भएको सिग्देलको जीकिर छ ।

“कार्यपालिका र नगरसभाको सदस्यको रुपमा नगरप्रमुख र उपप्रमुखलाई विश्वास गर्दा अस्वभाविक र अनपेक्षितरुपमा करको दर बढाइएको पाइयो, यसमा हामी पनि जिम्मेवार छौं । नगरवासी, व्यवसायीले विरोध गरेपछि सच्याउनुपर्ने अवस्था देखियो र सच्याउन अग्रसर भएका छौं” सिग्देलले भन्नुभयो, “हामीले हिजोका दिनमा जस्तै नगरप्रमुख र उपप्रमुखलाई विश्वास गरेर निर्णयमा हस्ताक्षर गरेका हौं । तर, स्पष्टरुपमा भन्नुपर्छ हामीले के के निर्णय भयो भन्ने समेत थाहा पाउने अवस्था रहेन ।”

नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेश सरकारले बनाएको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ को उपदफा ३ र दफा २३ को (ग), (घ), (ञ) र (ट) तथा हेटौँडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफ ३ बमोजिम विशेष नगरसभा बैठकको आव्हान गरिएको निवेदनमा उल्लेख छ ।