हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले गरेको करवृद्धिको निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका व्यवसायीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार दिउँसो मुख्यमन्त्री लामालाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्तासहितको व्यवसायीको समूहले ज्ञापनपत्र बुझाएको हो । हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर, घरभाडाको आधारमूल्य, एकीकृत सम्पत्ति कर र विज्ञापन करमा भारी वृद्धि गरेको भन्दै व्यवसायीले सोमबार पहिलो चरणको पाँँच दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनको दोस्रो दिन जिल्लाका सबै राजनीतिक दल, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयसँगै प्रदेशको उद्योग मन्त्रालय र मुख्यमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको हो । व्यवसायीको ज्ञापनपत्र बुझ्नु हुँदै मुख्यमन्त्री बहादुरसिंह लामाले आफू पनि व्यवसायी भएको र व्यवसायीको दुख थाहा भएको उल्लेख गर्नुभयो । उहाँले एकजना व्यवसायीले धेरैतिर दर्ता, नवीकरण, जरिवाना तिर्दा हैरान हुने र व्यवसायी निरन्तर मारमा परिरहने बताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघको समन्वय र सहजीकरणमा निर्माण व्यवसायी संघ मकवानपुर, होटल एसोसिएसन मकवानपुर, सहकारी संघहरु एकसाथ हेटौँडा उपमहानगरपालिकाविरुद्ध आन्दोलनमा होम्मिएका छन् । मंगलबारको ज्ञापनपत्र बुझाउने कार्यक्रममा सबैको साथ र सहयोगको प्रतिवद्धता प्राप्त भएको बताइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रमसँगै व्यवसायीले मंगलबारबाट हेटौँडा उपमहानगरपालिकालाई राजश्व नतिर्न र आन्दोलनमा सहभागी हुन आग्रह गर्दै माइकिङ गर्न सुरु गरेको छ ।
व्यवसायीले मंगलबार बिहानैदेखि ज्ञापनपत्र बुझाउन सुरु गरेको हो । व्यवसायीले मुख्यमन्त्री बहादुरसिंह लामासहित प्रदेशको उद्योगमन्त्री सुकमाया तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली काँग्रेस मकवानपुरका उपसभापति धर्म लामिछाने, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापा, रास्वपा मकवानपुरका उपसभापति प्रकाश गौतम, नेकपा एकीकृत समाजवादी मकवानपुरका विष्णु दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाएपछि व्यवसायीले मंगलबार साँझ दुईदिनको आन्दोलनका कार्यक्रमको समीक्षा गरेर तेस्रो दिन उपमहानगरपालिका परिसरमा धर्ना कार्यक्रमको तयारी गर्ने जनाएको छ । साथै मकवानपुर उद्योग वाणिज्य संघ मातहतका वस्तुगत संघहरुले व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विज्ञप्ति जारी गर्न सुरु गरेको छ । मोवाइल एसोसिएसन अफ नेपाल, कम्प्युटर एसोसिएसन अफ नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।