हेटौँडाः मकवानपुरको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मकवानपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ लाई सर्वसम्मतिले स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अध्यक्षतामा बसेको बैठकले सरोकारवाला निकायहरुबाट प्राप्त सान्दर्भिक सुझावहरु समेटेर प्राविधिक समितिबाट तयार गरिएको योजना सर्वसम्मत पारित गरिएको हो ।
स्वीकृत योजना कार्यान्वयनबाट विपद् जोखिम र संकटको पहिचान, मापन तथा विश्लेषण, विभिन्न प्रकोपबाट उच्च जोखिमयुक्त स्थानहरुको पहिचान गर्न सकिने बताइएको छ । प्रतिकार्य योजनाले विपद्जन्य घटनाको व्यवस्थापनमा सहजता हुने, मानवीय सहायतामा संलग्न निकायका बारे स्पष्ट जानकारी प्राप्त गर्न सकिने, जिल्ला अगुवा सहयोगी संस्था (डीएलएसए) को सक्रियता बढ्ने, सरोकारवालाहरुबीच समन्वय प्रभावकारी हुने अपेक्षा गरेको छ । उक्त योजनाले सूचना प्रणाली मार्फत तथ्यांक संकलन र अभिलेखीकरण प्रभावकारी हुने, विभिन्न क्षेत्रहरुको भूमिका र साधन स्रोतहरुको स्पष्ट पहिचान र सम्भावित क्षति न्यूनीकरण गर्न सहज हुने विश्वास गरिएको छ ।
बैठकमा प्राविधिक समितिबाट अद्यावधिक गरिएको मकवानपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ स्वीकृत गर्ने प्रस्ताव माथि छलफल भएको थियो । मकवानपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने सम्बन्धमा असार २० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय प्राविधिक समितिले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी तयार गरेको दस्तावेजका प्रावधानहरु बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।
त्यस्तै बैठकमा जिल्ला विपद् व्यवस्थापन कोषलाई रकम उपलब्ध गराइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने विषयमा छलफल भएको थियो भने मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका आगलागी पीडितलाई लाभग्राही कायम गर्ने, प्रहरी चौकी शिवराईगाउँका लागि आवश्यक पर्ने जग्गा सम्बन्धमा, विभिन्न विपद् (बाढी, पहिरो, चट्याङ, आगलागी)बाट प्रभावित/पीडितहरुलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।
बैठकमा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, पालिका प्रमुख/अध्यक्ष, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिको प्रतिनिधि, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख÷प्रतिनिधिहरु, नेपाल रेडक्रस, गैरसरकारी महासंघ मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, उद्योग वाणिज्य संघ मकवानपुरका प्रमुख एवम् प्रतिनिधहरुको उपस्थिति रहेको थियो ।