भवनको कागजात हस्तान्तरण गरिँदै ।

हेटौँडाः अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनद्वारा ३ करोड २८ करोडको लागतमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार हेटौँडामा आयोजित एक कार्यक्रमबीच सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको हो ।

सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत निर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । सरकारी स्वामित्वको जमिनमा हेटौँडामा निर्मित ४७० वर्ग मिटर क्षेत्रफलमा उक्त भवन निर्माण गरिएको छ । अपांगता–मैत्री, सीसीटीभी क्यामरा निगरानी, फायर अलार्म प्रणालीयुक्त र चौबिसै घण्टा सौर्य उर्जा व्याकअप प्रणाली जडित भवन ३ महिनामा नै निर्माण सम्पन्न गरिएको हो ।

सेभ द चिल्ड्रेन नेपालका संचार तथा मिडिया निर्देशक आयुष श्रेष्ठ जोशीका अनुसार २०८० चैत ४ मा निर्माण सुरु गरिएको उक्त भवनको निर्माण सम्पन्न गर्न ३ महिना समय लागेको हो । हाइटेक डेभलपर्स भरतपुरले ठेक्का सम्झौता गरेको ३ महिना (२०८१ असार) मा नै निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरेको हो ।