हेटौंडाः हेटौंडा–१३ स्थित महेन्द्र माविले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विद्यालयले एसईई उत्तीर्ण हुने ९ जना र कक्षा १२ उत्तीर्ण हुने ३८ जना गरी ४७ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले एसईई परीक्षामा ३.६ जिपीए ल्याउने भूमिका योञ्जनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, कक्षा १२ को परीक्षामा ३.६१ जिपीए ल्याएका अफ्रिम थिङ र खुशी रुम्बालाई पनि १०–१० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
कक्षा १२ को परीक्षामा ए प्लस नतिजा ल्याउने सुदीप पौडेल, रेश्मा श्रेष्ठ, जिना मोक्तान, नम्रता स्याङ्तान, सोनिया तितुङ र अबिलेश बराइलीलाई नगद ५–५ हजार रुपैयाँसहित सम्मान गरेको छ । अन्य विद्यार्थीलाई पनि सम्मानपत्रसहित सम्मान गरेको विद्यालय प्रधानाध्यापक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा अहिले १ हजार विद्यार्थी अध्ययनरत् छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा हेटौंडा–१३ का वडाध्यक्ष पेम्बा लामा र विद्यालयमा २ लाख ५ हजार रुपैयाँको अक्षयकोष निर्माणका लागि सहयोग गर्ने दाता चन्द्रबहादुर वाईबालगायतको उपस्थिति रहेको थियो ।