पुरस्कार वितरणपछि सामूहित तस्वीर खिचाउँदै ।

हेटौँडाः जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुसुम खड्का प्रथम हुनुभएको छ । नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक उत्सवको अवसरमा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा बिहीबार भएको प्रतियोगितामा हेटौंडा–५ स्थित हेटौँडा सिटी कलेजमा कक्षा–१२ मा अध्ययनरत खड्का प्रथम हुनुभएको हो ।

प्रतियोगितामा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कूलमा कक्षा–९ मा अध्ययनरत देविना सञ्जेल द्वितीय हुनुभएको छ । हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत सुशीला तामाङ तृतीय हुँदा हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत सिद्धार्थ फुयाँल सान्त्वना हुनुभएको छ । ‘आर्थिक समृद्धिमा सहकारीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयबाट ३८ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा सहभागी हुनका लागि ४६ जना विद्यार्थीले नामदर्ता गराएकोमा ८ जना अनुपस्थित भएका थिए ।

सहकारी र साहित्य क्षेत्रलाई विद्यार्थीसँग जोड्नका लागि वार्षिक उत्सवको अवसरमा पहिलो पटक प्रतियोगिता आयोजना गरेको बताइएको छ । मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयबाट २ जना र शारदा माध्यमिक विद्यालयबाट १ जना विद्यार्थी र हेटौँडा उपमहानगरको विद्यालय एवम् क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियायोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । नमूना प्रगति सहकारीका अध्यक्ष मीठाराम दहालको सभाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण समारोह भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, साहित्यकार सुवास खनाल र झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका पूर्वमन्त्री एकालाल श्रेष्ठ, साहित्य संंगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको पनि उपस्थिति रहेको थियो ।