हेटौंडाः बकैया गाउँपालिकाले शिक्षक बैङ्कका लागि पुनः आवेदन खुला गरेको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार शिक्षक बैङ्कतर्फ निमावि र मावि तहको लागि आवेदन खुला गरेको शिक्षा शाखा प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरबन्दी, राहत अनुदान कोटा, संघीय, प्रादेशिक तथा गाउँपालिका अनुदात कोटामा पदपूर्ति गर्ने प्रयोजनका लागि बकैया गाउँपालिकाको करार शिक्षक छनौट, कार्यविधि २०८० अनुसार शिक्षक छनौट गर्नुपर्ने भएकाले आवेदन खुला गरेको शाखा प्रमुख तामाङले जानकारी दिनुभयो । आवेदन फारम भदौ १० गतेसम्म भरिने जनाइएको छ ।
गाउँपालिकाले निमावितर्फ अंग्रेजीका १०, नेपालीका ८, गणितका १० र विज्ञानका १० जना र मावितर्फ शिक्षकको लागि अंग्रेजीका ८, नेपालीका ८, गणितका ९ र विज्ञानका १० जनाको लागि आवेदन खुला गरेको छ । गत साउन १९ गते शनिबार भएको अन्तरवार्तामा ५६ जना शिक्षक छनोट भएका छन् । जसअन्तर्गत ३६ जना प्रावि, ८ जना निमावि र १२ जना माविमा छनोट भएको शिक्षा शाखाका प्रमुख तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकामा रहेका विद्यालयमा अहिले गणित र विज्ञानका शिक्षकको आवश्यकता रहेको छ । यसवर्ष गाउँपालिकाभित्र रहेका ७६ वटा विद्यालयहरुमा ८ हजार ३ सय ८३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । गाउँपालिकाअन्तर्गत प्रावि ५३ वटा, मावि १२ वटा र ११ वटा निमावि गरी ७६ वटा विद्यालयहरु रहेका छन् ।
गाउँपालिकाले यसअघि बैशाखमा ५० जना प्रावि र निमावि तथा माविका लागि विषयगत १०–१० जना शिक्षक माग गर्दै आवेदन खुलाएको थियो । ४ सय ४५ जनाले आवेदन दिएका थिए । आवेदन फारम भरेकामध्ये पालिकाले लिएको परीक्षाबाट ५६ जना शिक्षकमात्र छनोट भएको उहाँले बताउनुभयो ।
पहिलो चरणको परीक्षामा पनि सबै जनाले परीक्षा नदिएको र परीक्षा दिएकाहरुमध्ये प्राथमिक तहमामा ७९ जना, निमावि तहमा २४ जना र मावि तहमा २५ जना गरी १ सय २८ जना दोस्रो परीक्षाका लागि सफल भएका थिए । दोस्रो चरणको लिखित परीक्षा साउन १३, १४ र १५ गते सञ्चालन भएको थियो । दोस्रो चरणमा पनि सबै जना परीक्षामा उपस्थित नभएको तामाङले जानकारी दिनुभयो ।











