पछिल्लो साता मानव बस्तीमा आएका बाघलाई चितवन र कञ्चनपुरमा समातियो । गत आइतबार चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै नारायणी नदी किनारमा बिहान कसरत गर्ने क्रममा एक जनालाई बाघले आक्रमण गरी घाइते बनायो । बाघले आक्रमण गरेको देखेपछि अन्य मानिसले कराएर बाघलाई भगाएका थिए । उक्त बाघ चितवन राष्ट्रिय निकुञ्जको टोलीले खोजी गरेर सोही दिन बेलुका बेहोस बनाइ नियन्त्रणमा लिएको थियो । यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२, कमलासा टोलमा गत बिहीबार विहान खेतमा धान गोड्दै गरेकी महिलालाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ । महिलालाई आक्रमण गर्ने बाघलाई शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, सेना, प्रहरीसमेतले ड्रोनको सहायताबाट खोजी गरेर उखुबारीमा लुकेको अवस्थामा बेहोस बनाई नियन्त्रणमा लिइएको छ ।

यी बाघको आक्रमणबाट मृत्यु तथा घाइते हुनेको प्रतिनिधिमूलक उदाहरणमात्र हो । नेपालमा बाघ संरक्षणका लागि भएका प्रयास र बाघको बासस्थान साँघुरिँदै जाँदा बाघ बस्ती तथा शहर पस्ने क्रम बढेको छ । बाघको बासस्थानमा घाँस, दाउरा तथा अन्य उद्देश्यले जाने मानिसलाई मात्र होइन, मानवीय बस्तीमै बाघले आक्रमण गर्ने क्रम बढेको हो । नेपालमा बाघको आक्रमणका कारण औसत महिनाको एकजनाको मृत्यु हुने गरेको छ । पछिल्लो ६ आर्थिक वर्ष (आव)मा बाघको आक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक आव २०८०÷८१ मा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यस्तै, आव २०७९÷८० मा १२ जना, २०७८÷७९ मा २१ जना, २०७७÷७८ मा १३ जना, २०७६÷७७ मा ८ जना र २०७५÷७६ मा ४ जनाको मृत्यु भएको विभागको तथ्यांक छ । नेपालमा पछिल्लोपटक सन् २०२२ मा गरिएको बाघ गणनाबाट ३ सय ५५ वटा बाघ भेटिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जमा ४१, चितवन राष्ट्रिय निकुञ्जमा १२८, बाँके राष्ट्रिय निकुञ्जमा २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ छन् ।

निकुञ्ज क्षेत्र र त्यस वरपरका मध्यवर्ती एवम् सामुदायिक वन बाघको बासस्थान हो । धेरै बाघ रहेका कारण चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासका बस्तीमा बाघको आक्रमण बढी हुने गरेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएका कारण मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पनि समय–समयमा बाघको आक्रमण हुने गरेको छ । करिब दुई वर्षअघि हेटौंडा–१ को भैरबडाँडा र लालझाडीमा बाघले घरपालुवा जनावर मारेपछि त्यस क्षेत्रका बासिन्दामा त्रास बढेको थियो । नेपाल बाघ पाउने विश्वका १३ वटा देशमध्येमा पर्दछ । करिब एक सय वर्ष अघिसम्म नेपालको जंगलमा हजारौंको संख्यामा रहेको बाघ तिब्र दरमा घटेपछि बाघको मुख्य बासस्थान रहेको क्षेत्रलाई निकुञ्ज र आरक्ष घोषणा गरेर संरक्षण थालिएपछि बाघको संख्या बढ्न थालेको हो ।

नेपालमा बाघको संख्या बढेसँगै यिनीहरुको व्यवस्थापनमा जोड दिनुपर्ने अवस्था बनेको छ । बाघलगायत वन्यजन्तुको संख्या बढेकै कारण मानव वन्यजन्तु द्वन्द्वको जोखिम बढेको छ भने यिनीहरुको प्राकृतिक बासस्थान संरक्षणमा चुनौती देखिएको छ । दुर्लभ र संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाघ प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । प्रायः बाघले शाकाहारी जनावरलाई शिकार गरेर आफ्नो आहारा बनाउने भएकाले त्यस्ता जनावरको संख्या नियन्त्रण गरी जैविक प्रणाली र खाद्य श्रृंखलालाई सन्तुलनमा राख्न बाघको महत्वपूर्ण भूमिका हुन्छ । बाघको आहार मानिस नभए पनि जंगलबाट बाहिर निस्केको अवस्थामा वा मानिसबाट आफूलाई खतरा महसुस गरेमा मानिसलाई आक्रमण गर्छ । बाघको बासस्थान रहेको जंगलनजिक घर र खेतीपाती भएकाले सतर्कता अपनाउनु पर्छ । बाघको आक्रमणबाट बच्न त्यसको बासस्थान जोगाउन तथा मुख्य आहारा संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ ।