हेटौँडाः विगत चार वर्षदेखि स्थगित मकवानपुर जिल्ला लिग फुलबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । मकवानपुर जिल्ला फुटबल संघले अहिले लिग सञ्चालनका लागि तीव्र तयारी गरिरहेको छ । फुटबल संघले लिग गराउने तयारी गरिरहँदा केही क्लबहरुले भने लिगप्रति असन्तुष्टि जनाएको पाइएको छ । लिग कम नकआउट प्रणालीमा लिग गराउँदा घटुवा हुने क्लब कसरी निश्चित हुन्छ भन्नेमा प्रश्न उठेको छ ।
लिग राउन्ड रोविनका आधारमा सञ्चालन गर्ने कि लिग कम नकआउट प्रणालीमा गर्ने भनेर केही क्लबहरुले प्रश्न गरिरहेको छ भने केही क्लबका पदाधिकारीहरुले लिग सजिलै नहुने बताउँदै आइरहेका छन् । यता जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले भने प्रतियोगिता निर्धारित समयमै भदौ ७ गतेबाट नै सञ्चालन हुने र तयारी तीव्र चलिरहेको बताउनुभएको छ । उहाँले लिग समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । उहाँले लिगबारे क्लबहरुसँग फेरी छलफल गरेर निर्णय गर्ने बताउनुभएको छ ।
जिल्ला लिग फुटबल लिग कम नकआउट प्रणालीमा खेलाउन तयारी भएको छ । जिल्ला फुटबल संघ मकवानपुरका सचिव छवि सुवेदीका अनुसार लिग राउन्ड रोविनको आधारमा हुनुपर्ने भएपनि लिग कम नकआउट चरणमा गर्ने संघको तयारी छ । लिगमा २८ क्लबको सहभागिता रहने र एउटा क्लबले २७ खेल खेल्नुपर्ने भएपछि प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाउन लागेको महासचिव सुवेदीले बताउनुभयो । ‘एउटा क्लबले २७ खेल खेल्न गाह्रो हुन्छ र आर्थिक भार पनि । यति खेल खेलाउन न आयोजकले सक्छ न क्लब आफैँले’ उहाँले भन्नुभयो ।
लिगकम नकआउट चरणमा खेल खेलाएमा क्लब र संघलाई आर्थिक भार कम पर्ने उहाँको भनाई छ । यस पटक लिगमा सहभागी हुने २८ क्लबलाई ७ समुहमा विभाजन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । ७ समुहमा ४–४ टिम रहनेछन् भने एउटा टिमले ३–३ खेल खेल्नेछ । ७ वटा समुहबाट अंकको आधारमा पहिलो, दोस्रो र तेस्रो गरी २१ वटा टिम नकआउट चरणमा पुग्नेछ । बाँकी ७ वटा क्लबहरुबाट अंकको आधारमा उत्कृष्ट ५ टिमलाई जिल्ला लिग खेल्ने टिमको रुपमा कायमै राखी पुछारमा रहने दुई टिम घटुवा हुने महासचिव सुवेदीले बताउनुभयो । पुछार रहने टिमबीच अंक बराबर भएको अवस्थामा क्लबहरुबीच प्रतिस्पर्धा गराइने बताइएको छ ।
यता क्लबका पदाधिकारीले भने लिग भनेपछि सबै क्लबले एकअर्कासँग खेल्न पाउनुपर्ने बताउँदै आएका छन् । चार वर्षपछि हुन लागेको लिग विवादरहित बनाउन जिल्ला फुटबल संघलाई भने चुनौतिको विषय बनेको छ । महासचिव सुवेदीले १५–१६ दिनमा लिग सकाउने तयारी भइरहेको पनि बताउनुभयो । हेटौँडा–११ स्थित सिमलटार मैदान, हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला र हेटौँडा–६ स्थित गौरिटार रंगशालामध्ये दुई मैदानमा दैनिक प्रतियोगिता गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । लिग विजेताले प्रदेशस्तरीय लिगमा सहभागी जनाउन पाउनेछ । लिग विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।