फाइल तस्वीर ।

हेटौँडाः कक्षा–१२ को वार्षिक परीक्षामा मकवानपुर जिल्लामा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार मकवानपुरमा ५२ दशमलव ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

१२ कक्षाको परीक्षामा अनुत्तीर्ण अर्थात् नन ग्रेडमा ४७ दशमलव ४१ प्रतिशत विद्यार्थी परेको राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा शाखाका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । बैशाख १४ गतेबाट सुरु भएको कक्षा–१२ को परीक्षामा मकवानपुरबाट नियमितर्फ ५ हजार ६ सय ९ जना विद्यार्थीहरु सहभागी भएका थिए । बैशाख २६ गतेसम्म सञ्चालन भएको परीक्षालाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नका लागि परीक्षाअघि राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाले १९ वटै केन्द्राध्यक्षहरुको उपस्थितिमा कक्षा–१२ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

मकवानपुरबाट २ हजार ९ सय ५० जना विद्यार्थी परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् । अनुत्तीर्ण हुनेको संख्या २ हजार ६ सय ५९ रहेको छ । मकवानपुर जिल्लाको करिब ५३ वटा विद्यायलहरुबाट विद्यार्थीहरु कक्षा–१२ को परीक्षामा सहभागी भएका थिए । परीक्षा सञ्चालनका लागि मकवानपुरमा १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । दुई वटासम्म विषयमा ननग्रेड अर्थात् एनजी आएका विद्यार्थीहरुले भदौ २४ र २५ गते हुने मौका परीक्षामा सहभागी हुन पाउनेछन् । मौका परीक्षामा सहभागी हुनका लागि नन ग्रेडेड परीक्षार्थीहरुले भदौ १४ गतेसम्ममा फारम भर्नुपर्नेछ ।