भारतले नेपाल र नेपालीको दोहन गर्ने बाहेक हित गर्दैन । यसो भन्दा धेरैलाई नपच्ने हुनसक्छ । तर अहिलेसम्म भारतले हामीप्रति गरिरहेको व्यवहार यहि हो । भारत हाम्रो छिमेकी देश हो । भारतसँगको हाम्रो सम्बन्ध वैदिक कालदेखिको हो । सामाजिक, साँस्कृतिक र धार्मिकरूपमा पनि हाम्रो एक आपसमा गहिरो सम्बन्ध छ । हाम्रो देशको पूर्व, दक्षिण र पश्चिम सीमा जोडिएकोले रोटी–बेटीको पनि सम्बन्ध छ । यसैले भारतीय जनतासँग हाम्रो गहिरो मित्रता छ । तर भारतका शासन सत्तामा बस्नेहरूको हाम्रो नेता र देशप्रतिको नीति ठीक छैन । उ मौका परे नेपाललाई भुटान, सिक्किम बनाउन चाहन्थ्यो । उसको नीति नेपाल सधैं कमजोर होस् भन्ने छ । यसरी कमजोर भइरहे यहाँका जनता र शासकहरुलाई खेलाइरहन सकिन्छ भन्ने धारणा राख्छ ।
उ हरदम हामीलाई मिच्ने र दोहन गर्नमै तल्लीन छ । हाम्रो देशको पूर्व–पश्चिम र दक्षिण सिमाना भारतसँग जोडिएकोले हाम्रो देशको ७० प्रतिशत भन्दा बढीको व्यापार भारतसँग हुन्छ । २००७ सालको जहानीया राणा शासन पछि प्राप्त प्रजातन्त्रमा पनि भारतको हस्तक्षेप थियो । भारतले जे जति पनि सहयोग गरेको छ त्यो उसको हित अनुकुल गरेको छ । त्यतिबेला उपत्यकासम्म मोटर चल्ने बाटो थिएन । भीमफेदीसम्म गाडि चले पनि त्यहाँबाट हिँडेर काठमाडौं पुग्नुपथ्र्यो । भीमफेदीदेखि थानकोटसम्म छिचोल्न चिसापानी र चन्द्रागिरीको डाँडो छिचोल्न दुई घन्टा भन्दा बढि समय लाग्दैन । तर, भारतले सहयोगको नाममा भैंसेदेखि थानकोटसम्म निकै घुमाउरो र ६, ७ घन्टा समय लाग्ने लामो बाटो बनायो । चीनसँगको सुरक्षाको डर देखाएर दुई घन्टामा पुग्ने बाटो नबनाएर लामो बाटो बनाउनमा उसको ठूलो स्वार्थ छ । त्यसैले भारतले भीमफेदीदेखि थानकोट छिचोल्ने बाटो नबनाएर भैंसे–पालुङ–थानकोटको लामो बाटो बनायो ।
सडकमा चल्ने गाडी, त्यसका पार्टपुर्जा, डिजल, पेट्रोल भारतबाट आउने हो । भारतबाट आउने इन्धन, गाडी र गाडीका पार्टपुर्जाहरु आज हामी ७० वर्षदेखि भारतबाटै आयात गरेर खपत गरिरहेका छौं । चीनसँगको सुरक्षा डर देखाएर छोटो र फराकिलो बाटो बनाउन रोक लगाउँदै आएको थियोे । यसरी भारतले आफ्नो एकलौटी व्यापार गरेर दोहन गरिरहेको छ । हाम्रो देशको ठूल्ठूला नदिमा उसले हैकम जमाएर कब्जा गरिसकेको छ । कोशी, गण्डकी र महाकालीको पानी कब्जा गरेर उसले आफ्नो उत्तर भारत र बिहारको भूमिलाई हराभरा बनाएको छ । सुदूरपश्चिमको शारदा बाँधबाट १४ हजार क्युसेक पानीमा नेपाललाई ४६० क्युमिटर मात्र दिएको छ । कोशी ब्यारेजबाट २३ हजार क्युमिटर पानी आफुले सिंचाइ गरेर हामीलाई १६०० क्युसेक मात्र दिएको छ । गण्डकीमा २९ हजार क्युसेक, आफुले लिएर नेपाललाई ८५० क्युसेक मात्र दिएको छ । यस प्रकार उसले कोशी, गण्डकी र शारदा ब्यारेजबाट ९७ प्रतिशत पानी आफुले लिएर ३ प्रतिशत मात्र पानी हामीलाई दिएर असमान सन्धी गरेर हाम्रो भू–भाग र पानी १९९ वर्षका लागि कब्जा गरेको छ ।
उसको उद्देश्य हाम्रो देशको पानी कब्जा गर्नु हो । देशको थुप्रै नदिनाला कब्जा गरेर जलश्रोत कब्जा गरेर राख्नु हो । भारत हाम्रा देशका नेताहरूलाई प्रलोभनमा पारेर नेपाल र नेपाली जनतालाई झुक्याउँदै आइरहेको छ । महाकाली सन्धी हुँदा हाम्रा नेताहरूले अब यो देशको कायापलट हुन्छ । एक खर्ब २० अर्ब भन्दा बढी आम्दानी हुन्छ । देशको कायापलट हुन्छ, पश्चिमबाट घाम झुल्किन्छ भनेर नेपाली जनतालाई झुक्याएको आज तीन दशक बितिसक्दा पनि भारतले डिपिआरसम्म बनाएको छैन । आफ्नो स्वार्थ अनुकुल कब्जा गरेर समयमा काम नगर्ने र हामीलाई जसरी पनि खेलाइराखेको छ । हाम्रो देशको सम्पूर्ण नदिनाला र जलश्रोतका बाँधबाट निस्केको पानीको उपभोग जलस्रोत कब्जा गरी आफ्नो बिहार, उत्तर भारतको जमिन सिंचाइ गर्ने मात्र होइन हाम्रो देशको खनिज पदार्थ युरेनियममा पनि आँखा गाढेको छ ।
यसरी भारतले हाम्रो देशबाट बगेर गएको खर्बौं क्युसेक पानी चलाखीपूर्ण तरिकाबाट बिना मूल्य उपभोग गरेको छ । आजभन्दा छ दशक अगाडि हाम्रो देशको १२ ठाउँमा भारतले सैनिक क्याम्प खडा गरेको थियोे । त्रिभुवन राजपथ निर्माण गर्न चीनसँगको सुरक्षा खतरा छ भनेर भीमफेदी ब्यारेकमा पनि भारतीय सैनिक बटालियन राखेको थियो । नेपालको सार्वभौम सत्तालाई चुनौति दिएर राखेको भारतीय मिसनको व्यापक विरोध भएपछि ११ ठाउँको मिसन हटायो । त्यसमध्ये कालापानी लिम्पियाधुराको सैनिक क्याम्प आजसम्म नहटाएर हाम्रो भुभाग कब्जा गरिरहेको छ । हाम्रा भूभागबाट कब्जा गरेर मानसरोवर जाने बाटो बनाएको छ । नेपालले आफ्नो भूभाग समेतको चुच्चे नक्सा राखेर नोट प्रकाशन गर्न र पाठ्यपुस्तकमा राख्न लागेकोमा असन्तुष्टि जनाएको छ । सिमाना र दसगजा छेउछाउ बस्ने नेपालीलाई अनेकौं बहानामा दुख दिने, बाँध बाँधेर यताको भूभाग जलमग्न गर्ने गरिरहेछ । दसगजाको छेउछाउमा बस्ने हाम्रा जनतालाई धम्क्याउने, तर्साउने र बाटो र पुल पनि बनाउन नदिने, अनावश्यक भारतीय सुरक्षाकर्मीहरु प्रवेश गर्ने गरिरहेछ । भारतले नेपाललाई जेजति पनि सहयोग गरेको छ यो भन्दा बढी नेपालबाट फाइदा उठाएको छ ।
हाम्रा दक्षिण सिमानाका थुप्रै भूभाग मिचिएको छ । हाम्रा किसानले उत्पादन गरेका कृषिजन्य अनेकौं उत्पादनमा बेलाबेलामा अनेकौं बहानामा किचलो गरेर निकासी गर्न बाधा पु¥याएको छ । अदुवा, अलैंची, चिया, अम्रिसो लगायत कृषिजन्य पदार्थलाई कम गुणस्तरको भन्दै बेला–बेलामा निकासी गर्न बाधा पु¥याइरहेछ । भारत हामी भन्दा ठूलो, शक्तिशाली र आर्थिक रुपले पनि सम्पन्न राष्ट्र हो । देश जतिसुकै शक्तिशाली भएपनि उसले अर्को देशलाई सम्मान र मैत्रीपूर्ण व्यवहार गर्नुपर्छ । तर उसले यस्तो गरिरहेको छैन । उ यो गर्नै चाहँदैन । हामी उसँग जोरी खोज्न सक्दैन भनेरै उसले बल मिच्याइँ गरिरहेछ । आफैंले सहमति गरेर दुबै देशका प्रबुद्ध व्यक्तिहरु राखेर बनाएको इपिजिको प्रतिवेदन थुप्रै वर्ष बितिसक्दा पनि बुझ्न समेत मानेको छैन । हामी गरिब र कमजोर भएसम्म यो देशमा बाहिरी हस्तक्षेप भइरहन्छ ।
यो सबै हुनुको कारण हाम्रो देशका सत्तामा पुग्न खोज्ने नेताहरूको ढुलमुले प्रवृत्ति, सुशासन कमि, शासन सत्तामा बस्नेहरूमा सुझबुझको कमि, निहित स्वार्थ र सत्ता लोलुपता र अस्थिरता नै हो । यसमा उसले प्रत्यक्ष, अप्रत्यक्ष भूमिका खेल्दै आएको छ । हाम्रो देशलाई कमजोर र अस्थिर बनाएको छ । भारतीय सत्ताधारीहरु नेपाल सधैं कमजोर र अस्थिर राज्य होस् । यो भयो भने आफ्नो अनुकूलतामा यहाँको सत्ताधारीहरुलाई खेलाउन सकिन्छ भन्ने मानसिकता राखेर हामीसँग व्यवहार गर्दछ, गर्दै आएको छ । हाम्रो देशका सत्तामा पुग्ने नेताहरुमा पनि भारतलाई नरिझाई सत्ता टिकाइरहन सकिन्न भन्ने मानसिकताले जरा गाढेको छ ।
हामी विश्वकै बढी जनसंख्या भएका दुई ठूला सम्पन्न राष्ट्रको बीचमा रहेको हाम्रो जस्तो अविकसित देशले छिमेकी मुलुकसँग सन्तुलन मिलाउन सकेन भने नेपाली जनताले दुःख पाइरहनुको विकल्प छैन । दुई ठूला सम्पन्न र शक्ति राष्ट्रको बीचमा रहेको हाम्रो सानो देशले दुबैतिर समदूरी र सन्तुलन मिलाएर चल्न सके हामीले पनि फाइदा लिन सक्छौं । दुई ठूला शक्तिराष्ट्र बीच समदूरीमा रहेर कुटनीति गर्न नजानेकै हो । हामी कसैको अनुग्रह र दवावमा चल्ने होइन । हामीले हाम्रो देशको स्वाभिमान र आत्मसम्मान जोगाउनै पर्छ । हामीले हाम्रा छिमेकी र अन्य देशहरुसँगको हाम्रो देशको स्वाभिमान र आत्मसम्मानमा कुनै पनि दखल नपुग्ने गरी समदुरी र मित्रवत् सम्बन्ध राख्न चनाखो हुनु पर्दछ । भारत चीन दुबै हाम्रा मित्रहरू हुन् । दुबै देशसँग स्वार्थ नबाझिने गरी मित्रवत् सम्बन्ध राख्नुपर्छ । कसैको हेपाइमा पर्नुहुन्न ।