प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर वृद्धिको विरोधमा निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिब राजेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा आइतबार व्यवसायीको समूहले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउने प्रयास गरे पनि नगरप्रमुख र उपप्रमुख अनुपस्थित हुनुभएपछि प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् ।

निर्माण व्यवसायी चरम मारमा परेको अवस्थामा व्यवसाय कर बढाउँदा निर्माण व्यवसायीले व्यवसाय नवीकरण नै गर्न नसक्ने अवस्था सिर्जना भएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ । बजारको माग र आपूर्ति सन्तुलन पुरै बिग्रिएको अवस्थामा व्यवसाय तथा बजार उकास्ने नीति लिनुपर्ने नगरपालिका जस्तो अभिभावक संस्थाले कर बढाउनु गैरजिम्मेवारीपन भएको संघले जनाएको छ । व्यवसायीको ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले नगरपरिषद्को निर्णयबाट बढाइएको करको दर सच्याउन नसकिने बताउनुभयो । आगामी पुसमा हुने नगरसभामा सुधार गर्न सकिने र त्यसअघि नगर कार्यपालिकाले व्यवसाय नवीकरणको म्याद थप्न सक्ने उहाँको भनाई छ ।

हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको निर्माण व्यवसायीको नवीकरण शूल्क क्रमशः सात हजार पाँच सय, पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ कायम गरेको थियो भने चालु आर्थिक वर्षका लागि १० हजार, आठ हजार, सात हजार र पाँच हजार रुपैयाँ कायम गरेको छ । हेटौँडा उपमहानगरपालिकामा करिब चार सय निर्माण व्यवसायी रहेको संघले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाले प्रतिस्पर्धामा निर्माण कार्य नगरी उपभोक्ता समितिमार्फत काम गर्ने गरेको भन्दै संघले ध्यानाकर्षण गराएको छ । यसअघि गत शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघले पनि हेटौँडा उपमहानगरपालिकाको कर वृद्धिको विरोध जनाउँदै ध्यानाकर्षणपत्र बुझाएको थियो । निर्माण व्यवसायी संघले पनि शुक्रबार नै ज्ञापनपत्र बुझाउने भने पनि नगर प्रमुख र उपप्रमुखले व्यस्त रहेको भनेपछि ज्ञापनपत्र बुझाउने कार्य आइतबारका लागि सारिएको थियो ।

गत शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाउन जाँदा पनि नगरप्रमुख मीनाकुमारी लामा अस्वस्थ भएको भन्दै कार्यकक्षमा अनुपस्थित हुनुभएपछि उपप्रमुख राजेश बानियाँलाई ज्ञापनत्र बुझाइएको थियो । नगरप्रमुख लामाले अस्वस्थ रहेको भन्नुभएपनि सोही समयमा उहाँ हेटौँडामै एउटा स्कुटर शोरुमको उद्घाटनमा व्यस्त हुनुहुन्थ्यो ।