कार्यक्रममा सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः क्रियसन नेपाल संस्थाले हेटौंडामा प्लाष्टिकको बोतलसँग विरुवा साट्ने कार्यक्रम गरेको छ । शनिबार हेटौंडा–४ स्थित हुप्रचौरमा संस्थाले प्लाष्टिकको बोतलसँग बिरुवा साट्ने कार्यक्रम गरेको हो ।

भीएफसी युथ हेटौंडाका भोलेन्टिएर अभिषेक चन्द र प्रतीक्षा पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम रोटरी क्लब अफ हेटौंडा, एन्वाइसी हेटौंडा, रोट्रयाक्ट क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडा र क्याण्डिड स्टुडियोको सहकार्यमा भएको आयोजक कमिटीका निश्चल भट्टले जानकारी दिनुभयो ।

प्लाष्टिकसँग बिरुवा साट्ने कार्यक्रमको सभाध्यक्ष पौडेल र चन्दको नेतृत्वमा युथ समूहका १० जना पदाधिकारीहरुको सहभागितामा कार्यक्रम भएको भट्टले बताउनुभयो । भट्टका अनुसार कार्यक्रममा युवा, ज्येष्ठ नागरिक, बालबालिका गरी करिब ५५ जना सहभागी भएका थिए ।

प्रकृतिको महत्वबारे बुझाउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुर र राप्ती मनहरीबाट विरुवा उपल्बध भएको हो । कार्यक्रममा ५ सय वटा प्लाष्टिकको बिरुवासँग ९० वटा बिरुवा साटेको भिएफसी भोलेन्टिएर सृजना सुवेदीले बताउनुभयो । बिरुवासँग साटेको बोतलहरु बेलिङ सिस्टममा पठाइएको उहाँले बताउनुभयो ।

पृथ्वी सबै सजीव प्राणीहरुको साझा बासस्थान भएकाले बालबालिकामा वातावरण संरक्षणसम्बन्धी जनचेतना दिन आवश्यक रहेको आयोजकको भनाइ छ । हेटौंडा क्षेत्रलाई केही हदसम्म प्लाष्टिक मुक्त बनाउनका लागि प्रयास गर्ने आयोजक कमिटीका भट्टले बताउनुभयो । यसअघि क्रियसनले विश्व बैंकको सहकार्यमा गत असार २० गते हेटौंडा–१० स्थित राप्ती नदी परिसरमा सरसफाइ कार्यक्रम गरेको थियो ।