उत्कृष्ठ नतीजा ल्याउने विद्यार्थीलाई सम्मानपत्र प्रदान गर्नुहुँदै नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दहाल

हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । समितिले शनिबार २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो ।

विद्यार्थीहरुको हौसला बढाउने उद्देश्यले ३ दशमलब ६१ देखि अधिक जिपीए अर्थात् ए प्लस ल्याउने विद्यार्थीलाई शनिबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा एक कार्यक्रम बीच सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिका भित्रको ८ वटा सामुदायिक विद्यालयबाट ३ दशमलब ६१ देखि ४ जिपीएसम्म ल्याउने ६३ जना विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरिएको छ ।

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयबाट ३ दशमलव ६१ देखि ३ दशमलब ८७ जिपीएसम्म ल्याउने २७ जना र भूटनदेवी माध्यमिक विद्यालयबाट ६ दशमलब ६१ देखि ३ दशलब ८२ सम्म जिपीए ल्याउने १५ जना विद्यार्थीलाई सम्मान गरिएको छ । हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयबाट ३ दशमलब ६६ देखि ३ दशमलब ८४ जिपीए ल्याउने ७ जना र हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयबाट ३ दशमलब ६५ देखि ३ दशमलब ८९ जिपीए ल्याउने ३ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

यस्तै, हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट ३ दशमलब ६४ देखि ३ दशमलब ७७ सम्म जिपीए ल्याउने ४ जना र हेटौंडा–३ स्थित महेन्द्रकिरण माध्यमिक विद्यालयबाट ३ दशमलब ६६ जिपीए ल्याउने १ जना विद्यार्थी सम्मानित भएका छन् । हेटौंडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयबाट ३ दशमलब ६२ देखि ३ दशमलब ८७ जिपीए ल्याउने ५ जना र हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयबाट ३ दशमलब ८४ जिपीए ल्याउने एक जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

३ दशमलब ६१ भन्दा बढी जिपीए ल्याएर विद्यार्थी उत्तीर्ण गराउने विद्यालयहरुलाई पनि सम्मान गरिएको छ । सम्मानपत्र पाउने विद्यालयमा आधुनिक, भूटनदेवी, प्रगति, सिद्धार्थ, जनप्रिय, बालज्योति, वंशगोपाल र महेन्द्रकिरण मावि छन् ।

नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुईंटेलको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले आफूले शिक्षा प्रदान गरेको विद्यार्थीहरु कस्तो स्तरमा पुगे भन्ने मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । शिक्षकहरुले विद्यार्थीहरुलाई पढाएको समयमा आफूमा भएको कमी र कमजोरीलाई स्वीकार्न सक्नुपर्ने उहाँले बताउनुभयो । विद्यार्थीहरु परीक्षामा पास भए पनि आफ्नो गुणस्तर विकास भएको छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने उहाँको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले सबैले राम्रो प्रतिक्रिया देखाएमा सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट बनाउन सक्ने धारणा राख्नुभयो । शैक्षिक समन्वय समितिले गर्ने विभिन्न प्रकारका कामहरुमा आफूले सक्ने साथ र सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

नेपाल शिक्षक संघका अध्यक्ष गणेश हुमागाईंले हेटौंडामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथिल्लो स्तरसम्म पु¥याउन सबैले जोड दिनुपर्ने बताउनुभयो । सबैले सामुदायिक विद्यालयलाई संयोजन गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । शैक्षिक क्षेत्रको विकास गर्ने कार्यहरुमा हेटौंडा उपमहानगरपालिकाले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । हेटौंडाको सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि राम्रो वातावरण पाएका कारणले उत्कृष्ट नतिजा ल्याएर सम्मानित भएको हुमागाईंको भनाइ छ ।

समन्वय समितिका अध्यक्ष लुईंटेलले सामुदायिक विद्यायल उत्कृष्ट छैन भन्ने मानिसहरुको मानसिकतामा बसेका कारणले सबैलाई सन्देश दिन सम्मान कार्यक्रम आयोजना गरेको बताउनुभयो । सामुदायिक विद्यालयलाई पनि सबैले शैक्षिक गन्त्वयको रुपमा लिन सकिने उहाँले प्रष्ट पार्नुभयो । सबै शिक्षकहरु एकीकृत भएर अगाडि बढेमा सामुदायिक विद्यालयले फड्को मार्ने विश्वास उहाँले दिलाउनुभयो ।

सामुदायिक विद्यालयलाई अगाडि बढाउन शिक्षक र अभिभावकको राम्रो सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कमजोर विद्यार्थीहरुलाई पनि शिक्षकले विशेष प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।