हेटौंडाः बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेशमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा हुने बताउनुभएको छ । सोमबार मकवानपुर जिल्ला बक्सिङ संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनियुक्त खेलकुदमन्त्री महर्जनले प्रदेशको खेलकुदमा बजेट कम भएका कारणले प्रदेशलाई खेलकुदको माध्यमले चिनाउनका लागि आफूले खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको बताउनुभएको हो ।
अहिले प्रदेश खेलकुद विकास परिषद्मा सदस्यसचिवको पद रिक्त भएकाले खेल क्षेत्रको बारेमा बुझेको, खेलकुदको बारेमा जानेको र खेल क्षेत्रमा आवद्ध भएको व्यक्तिलाई मात्र सदस्यसचिवमा नियुक्त गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफू कसैको दवाव र प्रभावमा नपर्ने भएकोले प्रदेशलाई खेलकुदमय बनाउनका निम्ति खेलकुद मन्त्रालयको जिम्मेवारी आफ्नो काँधमा लिएको उहाँको भनाइ छ ।
१२ वर्षको उमेरदेखि सितेरियो कराँते खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएर राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोषाध्यक्ष भइसकेको उहाँले बताउनुभयो । आफू राजनीतिक दलसँग आवद्ध भएपनि खेल क्षेत्रबाट आएको कारणले खेलकुदलाई त्याग्न नसक्ने धारणा राख्नुभयो । सबै खेलकुदमा आवद्ध भएका पदाधिकारीहरुले गनुपर्ने कामहरु धेरै भएका कारण हरेक युवाहरुले खेलकुदको माध्यमले नै राष्ट्रयलाई चिनाउन सक्ने उहाँको भनाइ छ । प्रदेशलाई नै खेलकुदको माध्यमबाट चिनाउने काममा आफू लाग्ने भन्दै खेलाडीहरुको भविष्यका लागि लड्ने र बागमती प्रदेशलाई नमुनाको रुपमा लैजाने काममा लाग्ने स्पष्ट पार्नुभयो ।
यस्तै, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बिमल ठकुरीले सम्मान तथा स्वागत कार्यक्रमको आयोजना गरेको कारणले थप हौसला प्रदान भएको बताउनुभयो । नेपालका खेलाडीहरुले खेललाई विकास र आत्मसाथ गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । खेलकुद क्षेत्रको विकास गर्नका लागि नेपाली कांग्रेसले खेलाडीहरुको सम्मान गर्दै आएको उहाँको भनाइ छ ।
सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्ष वेष खड्की, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ वडाध्यक्ष सुशील घिमिरे, बक्सिङ संघका उपाध्यक्ष उज्ज्वल शर्मा, प्रशिक्षक लाला पौडेल, कराँते प्रशिक्षक तुकेन्द्रमान श्रेष्ठ, मुकुन्दमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि नयाँ गठबन्धनका कारण साउन ६ गते खेलकुद मन्त्रीको पदबाट रमा आले मगर पदमुक्त हुनुभएको थियो । प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनुभएपछि साउन १२ गते महर्जनले खेलकुद मन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।