हेटौँडाः मकवानपुर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो संस्करणको अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । शनिबार हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ १५ केजी तौल समूहबाट आयोजक मकवानपुर डोजाङका अयान पुरी र ३६ देखि ३८ केजी तौल समूहबाट आयोजक डोजाङकै इभा जिम्बा उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजक मकवानपुर डोजाङ र चौकीटोल तेक्वान्दो डोजाङ गरी २ वटा डोजाङबाट १ सय ५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर डोजाङले खेलाडीहरुको क्षमता विकास गर्न, खेलाडीहरुलाई विभिन्न प्रतियोगितामा सहभागी हुने क्रममा सहज होस् भनेर र खेलाडीहरुलाई बाहिरी प्रतियोगिताहरुमा सहभागी हुँदा कुनै प्रकारको समस्या नपरोस् भन्ने उद्देश्यले विगत ३ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा पुरुषतर्फ १८ जना प्रथम, १८ जना द्वितीय र २४ जना तृतीय भएका छन् भने महिलातर्फ १६ जना प्रथम, १६ जना द्वितीय र १८ जना तृतीय भएका छन् ।
प्रतियोगिता आयोजनाका लागि सहभागी प्रतियोगीहरुसँग दर्ता शुल्क लिइएको थियो । जिल्ला तेक्वान्दो संघले खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजकुमार मुक्तानलाई बधाईपत्र हस्तान्तरण गरेको छ । मकवानपुर डोजाङका डोजाङ प्रमुख निरुकुमारी मगरको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण समारोहमा जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, संघका सल्लाहकार श्याम कर्माचार्य, तेक्वान्दोकी नगर अध्यक्ष शुरसा ढुंगाना, अनुगमन संयोजक हरि भुजेल र जिल्ला तेक्वान्दो संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।