विनोद शाह

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त हुनुभएको छ । आइबतार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नुवाकोटको ताँदी गाउँपालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३.५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँलाई प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक सल्लाहकार शाह कांग्रेस प्रवक्ता प्रकाश शरण महत निकट हुनुहुन्छ । अधिवक्ता शाह कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधी सदस्य हुनुहुन्छ । नेविसंघ नेपाल ल क्याम्पसका इकाई सभापति हुँदै राजनीतिमा होमिनुभएका शाह नेविसंघको उपाध्यक्षको प्रत्यासी समेत हुनुहुन्थ्यो । काँग्रेस प्रवक्ता प्रकाश शरण महत जलस्रोत उर्जा तथा सिंचाई मन्त्री हुनुहुँदा शाह स्वकीय सचिव हुनुहुन्थ्यो ।