नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा

हेटौँडाः मुख्यमन्त्री बहादुर सिंह लामाले बिना विभागीय मन्त्रीको व्यवस्थापनका लागि तत्काल मन्त्रालय नफुटाउने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयमा नै जिम्मेवारी दिने गरी तयारी भएको उहाँले बताउनुभयो । गठबन्धन दलमा केही विषयहरु मिलाउनु पर्ने भएकाले मन्त्रालय विभाजन गर्ने सहमति नबनेको उहाँको भनाइ छ ।

आकांक्षी बढी हुँदा मन्त्रालयको संख्या भन्दा बढी मन्त्री नियुक्त गर्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । ‘बिना विभागीय जिम्मेवारीमा रहेका मन्त्रीको विषयमा छिट्टै निर्णय लिनेछौं । तत्काल मन्त्रालय फुटाउने योजना छैन । मुख्यमन्त्री कार्यालयमा नै कुनै जिम्मेवारीमा रहनु हुनेछ । पछि गठबन्धन दलसँग छलफल गरेर विभागीय जिम्मेवारीका लागि मन्त्रालय विभाजनको हुन सक्छ’, समृद्ध समाजसँग मुख्यमन्त्री लामाले भन्नुभयो ।

अहिले १३ मन्त्रालयमा १४ जना मन्त्री नियुक्त छन् । मुख्यमन्त्री लामाले मदु कुमार श्रेष्ठलाई बिना विभागीय मन्त्रीको रुपमा आफ्नो मन्त्रिमण्डलमा सहभागी गराउनुभएको छ ।