हेटौंडाः हेटौंडा–१७, हटियामा भएको पहिलो संस्करणको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । क्रियटिभ तेक्वान्दो डोजाङको आयोजनामा गत वर्षको कार्तिक १७ र १८ गते भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय–व्यय विवरण ९ महिनापछि सार्वजनिक गरिएको हो ।
आइतबार हटियामा एक कार्यक्रमबीच दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा करिब १० लाख रुपैयाँ खर्च भएको विवरण डोजाङ प्रमुख भोजराम पराजुलीले सार्वजनिक गर्नुभएको छ । डोजाङका प्रमुख पराजुलीले दुई दिनको प्रतियोगितामा ९ लाख ९४ हजार ४ सय ७५ रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको छ । यस्तै, प्रतियोगिता आयोजनाका लागि विभिन्न निकायहरुबाट सहयोग स्वरुप ९ लाख २१ हजार ५ सय रुपैयाँमात्र आम्दानी भएको उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्दा ७२ हजार ९ सय रुपैयाँ घाटा व्यर्होनुपरेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा मकवानपुर र बाहिरी जिल्लाका खेलाडीहरुको दर्ता शुल्कबाट २ लाख ७२ हजार ५ सय रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट २ लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिकाबाट १ लाख रुपैयाँ, खेलकुद विकास समिति हेटौंडा–१७ तथा वडा कार्यालयबाट ८५ हजार रुपैयाँ प्राप्त भएको आय–व्यय विवरणमा उल्लेख छ । यस्तै, नारायण सिंह थिङबाट ५० हजार रुपैयाँ, १६ नम्बर वडा कार्यालय र कृष्णप्रसाद पराजुलीबाट २०–२० हजार रुपैयाँ, शिवम् सिमेन्ट र पोषक ब्रिडरबाट १५–१५ हजार रुपैयाँ प्राप्त भएको छ । प्रेमबहादुर गुरुङबाट १० हजार ५ सय रुपैयाँ, केशवबहादुर कार्की, सागर कटुवाल, प्रदीप अर्याल र डिस मिडिया नेटवर्कबाट १०–१० हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
प्रतियोगिता आयोजना गर्दा खेलाडीको आवासका लागि १ लाख ६१ हजार रुपैयाँ, टिमकोच र टिम म्यानेजरका लागि १६ हजार १ सय रुपैयाँ, खानामा २ लाख २५ हजार २ सय रुपैयाँ, खेल सामग्रीमा ५२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । छपाइमा १० हजार रुपैयाँ, मायाको चिनो र फ्रेममा ३४ हजार रुपैयाँ, स्पिकरमा १२ हजार रुपैयाँ, चौर मर्मतमा ३३ हजार ७ सय ५० रुपैयाँ खर्च भएको जनाइएको छ । यस्तै, मेडलमा ३० हजार रुपैयाँ, प्रमाणपत्रमा २१ हजार ३ सय ५० रुपैयाँ, खेलाडीको पुरस्कारमा ३८ हजार रुपैयाँ, शिल्डमा ३२ हजार ८ सय रुपैयाँ, पानीमा १२ हजार ६ सय रुपैयाँ, रेफ्री भत्तामा ९३ हजार रुपैयाँ, यातायातमा १६ हजार ५ सय रुपैयाँ खर्च भएको आय–व्यय विवरणमा उल्लेख छ । बत्ती व्यवस्थापनमा १७ हजार ५ सय रुपैयाँ, इन्धनमा १६ हजार ५ सय रुपैयाँ, खाजामा ४५ हजार २ सय ४० रुपैयाँ खर्च भएको छ ।