हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने तय भएको छ । संघीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि फेरबदल हुन सुरु भएको छ । संघीय सरकारमा माओवादी केन्द्रको नेतृत्व अल्पमतमा परेर सरकार परिवर्तन भइसकेको छ । संघीय सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुँदै नयाँ मन्त्रीमण्डल गठन गरिसक्नुभएको छ ।
यता बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छाडेर नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयास गर्नुभए पनि उहाँ अल्पमतमा पर्ने निश्चित प्रायः छ ।