हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष हिदम लामाले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालय निर्माणका लागि पालिकाले १ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो रकमबाट हलसहित ९ कोठे भवन निर्माण भएको हो । भवन निर्माणका लागि पालिकाले १ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो । पालिकाका उपाध्यक्ष सञ्जिव श्रेष्ठका अनुसार पालिकाभित्रका ९ वटा वडामध्ये अहिले १ र ३ नम्बर वडाले मात्र भाडाबाट सेवा प्रवाह गरिरहेको छ । १ नम्बर वडाको भवन निर्माणका लागि जग्गा प्राप्त भइसकेको र यहि आर्थिक वर्षमा भवन बनाउने तयारी भइरहेको तथा ३ नम्बरको लागि जग्गा मिलाउने कार्य भइरहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । अरु वडाहरुले साविककै गाविसका वडा कार्यालयहरुबाट सेवा प्रवाह गरिरहेको छ ।
नवनिर्मित ५ नम्बर वडा कार्यालयबाट सोमबारदेखि नै सेवा प्रवाह गरिएको छ । भवन निर्माणका लागि ललित माया बलले ९ आना जग्गा दान गर्नुभएको थियो । उहाँलाई कार्यक्रममा सम्मान समेत गरेको थियो । २०७५ सालदेखि ५ नम्बर वडा भाडा कोठा लिएर सेवा प्रवाह गरिरहेको थियो । भीमफेदी–५ का वडाध्यक्ष जहारसिंह लामाको सभाध्यक्षतामा भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा अन्य वडाका वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियोे ।