हेटौँडा–४ स्थित भुटनदेवी माविमा एसईईमा सहभागी विद्यार्थी । फाइल तस्वीर ।

हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । साउन २३ गतेदेखि ३१ गतेसम्म हुने ग्रेडवृद्धि (मौका) परीक्षाको लागि जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५ वटा, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको श्रमिक माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, भूटनदेवी माध्यमिक विद्यालय, बालजागृति ईङ्गलिस बोर्डिङ स्कूल र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ । यस्तै, बकैयाको बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडे, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय पालुङमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी शाखा अधिकृत उन्नति ढकालले जानकारी दिनुभयो ।

श्रमिक माध्यमिक विद्यालयबाट १६ वटा विद्यालयका ३ सय ३८ जना विद्यार्थीले मौका परीक्षा दिनेछन् । सिद्धार्थ माध्यमिक विद्यालयबाट १५ वटा विद्यालयका ३ सय ३९ जना र प्राविधिक तर्पm १० वटा विद्यालयका एकसय ९८ जना विद्यार्थीले परीक्षा दिनेछन् । भूटनदेवी माध्यमिक विद्यालयबाट १६ वटा विद्यालयका ४ सय ८४ जना विद्यार्थी, बालजागृति ईङ्गलिस बोर्डिङ स्कूलबाट १३ वटा विद्यालयका ३ सय ३० जना र आधुनिक राष्ट्रिय माविबाट २५ वटा विद्यालयका ६ सय २५ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनेछन् ।

बकैया गाउँपालिकाको बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेबाट १५ वटा विद्यालयका ५ सय २३ जना, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यालयबाट १३ वटा विद्यालयका ४ सय ८१ जना विद्यार्थी र थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय पालुङबाट २३ वटा विद्यालयबाट ४ सय ८२ जना विद्यार्थीले मौका परीक्षा दिनेछन् ।

परीक्षाको बेलामा आवश्यक सुरक्षा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले हेर्ने ढकालले बताउनुभयो । परीक्षाको उत्तरपुस्तिका ईकाइले छापिरहेको छ । विद्यार्थीले परीक्षामा एनजी ल्याएका वा उपस्थित हुन नपाएका सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । गत वर्षसम्म विद्यार्थीले दुईटा विषयको परीक्षामात्र दिन पाउने गरेका थिए ।