राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली । बीचमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ।

हेटौँडाः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मध्यान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएको हो । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ गते भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो ।

ओली २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको पहिलो कार्यकाल ९ महिनाको मात्रै रह्यो । २०७३ साउन ९ मा राजीनामा दिनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झण्डै दुईतिहाइ सिट प्राप्त गरेको थियो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि ओली प्रधानमन्त्री बन्नुभएको थियो ।