हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । आइतबार एक कार्यक्रमबिच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा पालिका पूर्णखोप सुनिश्चित घोषणा भएको हो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशासक कृष्ण मिजारले नगर प्रमुख लामालाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाले १६ महिनादेखि ५ वर्षका ७ हजार एकसय ८५ जना बालबालिकालाई पूर्णखोप लगाउन सफल भएको छ । यस्तै, आगामी वर्षमा २ हजार ९ सय ४१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य बनाएको छ ।
खोप लगाउने क्रममा पालिकाले एउटा खोप पनि नलगाएका २ जना बालबालिका भेटिएको बताएको छ । अहिले ती बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको पालिकाको भनाइ छ । हेटौंडा उपमहानगरपालिकामा २२ वटा स्वास्थ्य संस्था छन् ।
कार्यक्रममा पालिकाले १९ वटा वडाका वडा अध्यक्षलाई प्रमाणपत्र र वडा स्वयम्सेविकाहरुलाई सम्मान गरेको थियो । यस्तै, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा भएको छ । पालिकाले असार १२ गते ८ वटा वडा पूर्णखोप सुनिश्चित गरेकोमा जनस्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार पालिका पूर्णखोप सुनिश्चित घोषणा गरेको हो ।
घरधुरी सर्वेक्षण गर्दा खोप नलगाएका बालबालिका नभेटेपछि कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशासक कृष्णप्रसाद मिजारले प्रमाणपत्र प्रदान गर्दै पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा पालिकाका प्रमुख दोर्जे लामा स्याङ्तानको अध्यक्षता रहेको थियो । पालिकाका सबै बालबालिकाले नेपाल सरकारको तालिकाअनुसार खोप लगाएपछि पूर्णखोप सुनिश्चित भएको पालिकाका घोषणा भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार पालिकाले १५ महिनाभित्रका ४ सय ६१ जना बालबालिकालाई खोप लगाएको छ । १६ महिनादेखि ५ वर्षसम्मका १ हजार ३ सय ८ जना बालबालिकाले पूर्णखोप लगाइसकेका छन् । यस्तै, आज सोमबार थाहा नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा हुने भएको छ । मकवानपुर जिल्लाको ६ वटा पालिका पूर्णखोप सुनिश्चित भइसकेका छन् ।