फाइनलमा प्रतिस्पर्धा गर्ने हासु र कैलाशका खेलाडीहरुको तस्वीर ।

हेटौंडाः पहिलो संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियागिताको आज सोमबार फाइनल खेल हुँदैछ । गाउँपालिका वडा नम्बर–८ स्थित सिम्पानी मैदानमा फाइनल खेल हुनेछ ।

सिम्पानी युथ क्लबको आयोजनामा हुने प्रतियोगिताको फाइनल खेलमा उपाधिको होडमा हासु एफसी मनहरी र कैलाश एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुबै टिम जीतको लक्ष्यसहित उपाधि जित्ने योजना बनाएर मैदानमा उत्रनेछन् ।

शनिबार भएको सेमिफाइनल चरणको दोस्रो खेलमा इन्टरनेट सिटीलाई १–० गोल अन्तरले हराउँदै हासु एफसी मनहरी फाइनलमा प्रवेश गरेको थियो भने बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक सिम्पानी युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै कैलाशले फाइनलमा आफ्नो स्थान बनाएको थियो । हासु एफसीको तर्फबाट दिपेश चाम्लिङ राईले निर्णायक गोल गरेका थियो भने कैलाशको तर्फबाट अभिषेक लामाले गरेको गोल निर्णायक बन्न पुगेको थियो ।

बुधबार भएको क्वार्टरफाइनल खेलमा बागमती प्रदेश प्रहरी गण हेटौंडालाई २–१ गोल अन्तरले हराउँदै कैलाश सेमिफाइनलमा प्रवेश गरेको थियो भने बिहीबार भएको क्वार्टरफाइनल खेलमा चितवन जिल्लाको ईन्द्रकमल युथ क्लबलार्ई ४–० गोल अन्तरले हराउँदै हासु एफसी सेमिफाइनलमा प्रवेश गरेको थियो । कैलाशको तर्फबाट विजय दोङ र अभिषेक लामाले सम्मान एक–एक गोल गरेका थिए भने क्वार्टरफाइनल चरणमा पराजित प्रदेश प्रहरीको तर्फबाट विशाल थिङले मात्र एक गोल फर्काउन सफल भएका थिए । सेमिफाइनलमा प्रवेश गर्ने क्रममा हासु एफसीको तर्फबाट मोहित गुरुङले दुई गोल गरेका थिए भने जीत मगर र अभि लामाले समान एक–एक गोल गरेका थिए ।

गत सोमबार भएको पहिलो चरणको खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ३–० गोलले हराउँदै कैलाश क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । कैलाशको तर्फबाट सुनिल थिङले दुई गोल गरेका थिए भने सुजन गुरुङले एक गोल गरेका थिए । गत आइतबार भएको पहिलो चरणको खेलमा एफसी मिन्थालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै हासु एफसी क्वार्टरफाइनलम प्रवेश गरेको थियो । निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । स्कुटर दुर्घटनामा निधन भएका गाउँपालिकाको पूर्वफुटबल खेलाडी मिलन धर्मराजको स्मृतिमा प्रतियोगिताको आयोजना गरेको क्लबका खेल संयोजक प्रकाश थिङले बताउनुभयो । प्रतियोगिताका लागि स्थानीय क्रसर व्यवसायी र अन्य व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भइरहेको संयोजक थिङले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५–५ हजार रुपैयाँको नगद राशि र प्रमाणपत्र पदान गरिनेछ । यस्तै, प्रतियोगिता अवधिभरको सर्वोकृष्ट खेलाडीले ७ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।