हेटौंडाः होटल एसोसिएसनले आइतबार देशका सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जारी लकडाउनका कारण होटल व्यवसाय गम्भीर रुपमा प्रभावित भएको भन्दै विभिन्न १४ बुँदे माग राख्दै होटल व्यवसायीले आइतबार बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री काठमाडौं जानुभएकोले होटल व्यवसायीले मुख्यमन्त्रीको कार्यालयका निमित्त प्रमुख सचिव डा. हरि लम्साललाई ज्ञापनपत्र बुझाउएका छन् ।

होटल एसोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले होटल व्यवसायीलाई घरभाडा छुट दिनुपर्ने, ऋणको व्याजमा छुट दिनुपर्ने, सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र पेश गर्नुभएको हो । ज्ञापनपत्र बुझ्नुहुँदै बागमती प्रदेशका निमित्त प्रमुख सचिव डा. हरि लम्सालले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आव्हान गरिएको लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको र होटल व्यवसायीले उठान गरेका कतिपय मुद्दा संघीय सरकार र स्थानीय सरकारसँग समेत सम्बन्धित भएकोले मुख्यमन्त्री आउनुभएपछि छलफल गरेर अगाडि बढ्ने जानकारी गराउनुभयो ।

होटल व्यवसायीले घरधनीहरुलाई पनि घरभाडा छुटका लागि अपील गरेका छन् । घरधनीहरुलाई पनि बैंक व्याज तथा घरभाडा करमा छुट गरेर घरभाडामा छुट दिन प्रेरित गर्नुपर्ने व्यवसायीको भनाइ छ । अहिलेसम्मको लकडाउनको समस्या र अझै कति समय यस्तै अवस्था रहीरहने भन्ने निश्चित नभएका कारण व्यवसायी थप पीडामा रहेको बताइएको छ । ज्ञापनपत्र बुझाउन होटल एसोसिएसन बागमती प्रदेश समितिका उपाध्यक्ष निप्पु सर्राफसहित होटल एसोसिएसन मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।